काठमाडौँ: प्रभु बैंकको कायम–मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरज लम्सालले पाएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत गरी तीन कर्मचारीमाथि अनुसन्धान सुरु गरेपछि बैंक सञ्चालक समितिले वरिष्ठतम कर्मचारीको रूपमा लम्साललाई कामु सीईओको जिम्मेवारी तोकेको हो।
सीईओ शेरचनलगायत अन्य अधिकारीहरूमाथिको अनुसन्धान प्रक्रियामा जारी रहेकाले बैंकको दैनिक कार्य–सञ्चालन निरन्तर तथा प्रभावकारी रूपमा अघि बढाउन सञ्चालक समितिबाट लम्साललाई उक्त जिम्मेवारी तोकिएको बैंकले जनाएको छ। सीईओ शेरचन अनुसन्धानमा रहे पनि बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरू सम्पूर्ण शाखा सञ्जालहरूबाट निर्वाध रूपमा सञ्चालन हुने बैंकले जानकारी दिएको छ।
‘सीआईबीको अनुसन्धानका कारणले बैंकको दैनिक कार्य–सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरूको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था नरहेको व्यहोरा विश्वास दिलाउन चाहन्छौं,’ बैंकले भनेको छ, ‘समस्त निक्षेपकर्ता, ग्राहक एवं शेयरधनी महानुभावहरूबाट सदा झैँ बैंकप्रति सहयोग, सद्भाव तथा शुभेच्छा प्राप्त भइरहनेमा विश्वस्त छौं।’
गत आर्थिक वर्षमा बैंकले पाँच अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ।
चालू आर्थिक वर्षको वित्तीय विवरण हेर्दा बैंकको अवस्था राम्रो देखिएको छ। तीन महिनामा बैंकले दुई अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। तीन महिनामा बैंकको वितरणयोग्य नाफा ४० करोड ६० लाख रुपैयाँ छ। बैंकको प्रति–शेयर आम्दानी ९.४९, प्रति–शेयर नेटवर्थ १६३.५५ रुपैयाँ रहेको बैंकले जनाएको छ।
बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ। बैंकको सञ्चित कोषमा १४ अर्ब ५५ करोड रुपैयाँ छ। यसले प्रभु बैंकको अवस्था मजबुत रहेको देखाउँछ। हालसम्म बैंकले तीन खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी दुई खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।


