काठमाडौं। निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको भौतिक प्रगति २५ प्रतिशत मात्र छ। सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक निर्माण भइरहेको छ।
एशियन राजमार्गक काँकडभिट्टादेखि झापाको केरखा सितापुरीसम्म ४५ किलोमिटर खण्डको निर्माण प्रगति २९ प्रतिशत छ। यो खण्ड निर्माणका लागि कात्तिक २०८० मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।
सितापुरीदेखि सुनसरीको लविपुरसम्म ५० कलिोमिटर सडकको निर्माण प्रगति १३ प्रतिशत मात्र छ। सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ।
आयोजनामा १३४ वटा कल्भर्ट तथा वन्यजन्तुमैत्री अण्डरपास, ७ वटा सवारी अण्डरपास, ५ वटा आकाशे पुललगायतका सडक संरचना निर्माण हुनेछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामलगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका छन्।
सडक स्तरोन्नतिको काम सुरु भएको तर जुन गतिमा हुन पर्ने हो त्यसअनुसार काम हुन नसकेको देखिएको कुलमानले बताए। हिउँद सुरुभएसँगै कामको गति बढाउनु पर्ने उपयुक्त मौसम भएको उल्लेख गर्दै मन्त्री घिसिङले जनशक्ति थप गरी कामको गति बढाउन आग्रह गरेका छन्।
सडकको दायाँबायाँ रहेको विद्युतका पोल सार्न केही समस्या देखिएकाता पनि समस्या समाधान नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरी निर्माण प्रभावित हुन नदिने उनले बताए।


