काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ। बैंकले एकै पटक ९ प्रतिशत लाभांश दर तोकिएको, रू १०० अंकित ३५ लाख कित्ता अग्राधिकार शेयर निष्काशन गर्नेछ।
कम्पनीले निष्काशन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयर अग्राधिकार शेयर हो। लाभांश बाँडिसकेपछि मात्रै अग्राधिकार शेयरधनीलाईसाधारण शेयरवापतको लाभांश बाँडिन्छ।
अग्राधिकार शेयरको प्रस्ताव बैंकको १८ औँ वार्षिक साधारणसभाबाट पारित भइ नेपाल राष्ट्र बैंकको स्वीकृति लिएपछि सेबोनमा पेस गरिएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि धितोपत्र बोर्डले अन्तिम स्वीकृति प्रदान गरेको हो। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापीटल रहेको छ ।
नेपाल राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष सुदृढीकरणका लागि हकप्रद शेयरबाहेक अन्य विकल्प पनि खोल्दै सर्कुलरमार्फत अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको थियो। यसै नीतिगत खुलापनका कारण कामना सेवा विकास बैंकले अग्राधिकार शेयर सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउन पाएको हो।


