काठमाडौँ: कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपालले जापान सरकारसँग ऋण लिएको छ। नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।
जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब रु.३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको छ।जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।
यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिने अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिए।
ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोट्समा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन्। त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे।


