काठमाडौँ: भारतले नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोटमा लगाएको प्रतिबन्ध हटाएको छ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले राजपत्रमार्फत नेपाल तथा भूटानमा उच्च दरका नोट प्रयोग गर्न पाउने व्यवस्था लागू गरेको हो।
भारतमा हाल दुई हजार दरका नोट समेत वैध छन्, तर २०२३ देखि ती नोट छाप्ने काम भने रोकिएको छ। त्यसैले प्रचलनमा रहेका ठूला नोटमध्ये २०० र ५०० दरका नोट नै मुख्य रूपमा चल्दै छन्।
सन् २००० मा भारतमा फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट लागू भएपछि नेपालमा ठूलो दरका भारतीय नोट चलनचक्रमा सीमित भएका थिए। ऐन लागू भएको समयमा भारतमा १,००० दरका नोट सार्वजनिक भएका थिएनन्। पछि मोदी नेतृत्वमा ठूलो दरका नोट पुनः चलनमै आए।
ठूला दरका नोटको अधिकतम सीमा भने तोकिएको छ। २५ हजार भारुभन्दा बढी ल्याउन/लैजान पाइने छैन।
भारतले प्रतिबन्ध हटाएसँगै नेपाल राष्ट्र बैंकले पनि सम्बन्धित परिपत्र संशोधन गरी सूचना जारी गरेपछि नेपालमा २०० र ५०० दरका नोटहरूको सटही तथा चलनचक्र औपचारिक रूपमा सुरु हुनेछ।
यसअघि ठूलो दरका नोट तस्करी तथा सुरक्षासम्बन्धी चिन्ताका कारण भारतले नोटबन्दीपछि नेपालमा १०० रुपैयाँभन्दा माथिका नोट प्रवेशमा रोक लगाएको थियो। त्यसपछि नेपालमा केवल १०० रुपैयाँ वा त्यसभन्दा कम दरका भारतीय नोट मात्र चल्दै आएका थिए।
