काठमाडौं। गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ।
अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक—सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको छ।
क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ। त्यसमध्ये ४ खण्डका पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ। पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ।
बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का सहयायतामा पुनर्निर्माण हुनेछ। यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ।
हाल अस्थायी रुपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरु भएसँगै काम नगर्ने उल्लेख गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम सुरु हुनुभन्दा अगाडि नै आवश्यक संरचनाको निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्।
उनले जलशक्ति थप र विद्युतको व्यवस्था गरी राती पनि काम गर्ने व्यवस्था गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए।
संघीय राजधानीलाई पूर्वी क्षेत्र संग जोड्नको लागि महत्वपूर्ण रहेको उक्त बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो।
१६० किलोमिटर लम्बाई रहेको बीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो। हाल भइरहेको इन्टरमिडियट लेनलाई क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाई पुनर्निर्माण गरिंदैछ।


