काठमाडौँ: रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबारदेखि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि उक्त आईपीओ खुला गरेको हो।
कुल १ लाख १५ हजार ५९६ कित्ता शेयर विदेशमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो।
विदेशमा रहेको नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो समूहका लागि आवेदन दिने अवधि मंसिर २५ गतेसम्म रहेको छ । यदि उक्त समय भित्र आईपीओमा प्रयाप्त आवेदन नपरेमा आवेदन मिति पुस ७ गतेसम्म रहनेछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।
कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ जारी पूँजीको १०।१४ प्रतिशत बराबरको १९ लाख २६ हजार ६०० कित्ता साधारण शेयर निष्काशन गरिरहेको छ। यसमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।


