मे २८, २०२३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको औपचारिक उद्घाटन गरे। भारतको नयाँ संसद भवनमा ‘अखण्ड भारत’का नाममा दक्षिण एसियाली उपमहाद्वीपको नक्साको ‘भित्तेचित्र’ (म्युरल)ले नेपाललगायत यस भू-भागका अन्य देशहरूको सार्वभौम क्षेत्रको कृत्रिम विवाद सिर्जना गरेको छ।
नक्सामा अफगानिस्तानका केही भागहरू र सम्पूर्ण पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका र म्यानमार समावेश छन्। ‘अविभाजित भारत’ भित्तेचित्रउपर बंगलादेश, नेपाल र पाकिस्तानले असन्तुष्टि व्यक्त गरेका छन्।
अधिकांश भारतीय विपक्षी दलहरूले समारोह बहिष्कार गर्दा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसदको संसद भवनको उद्घाटन गरे। समारोह बहिष्कार गर्ने २० विपक्षी दलहरूका आफ्नै कारण छन्। उनीहरुले भारतीय राष्ट्रपतिले संसदको उद्घाटन गरून् भन्ने चाहेका थिए भन्ने गरिएको छ। यी विपक्षी दलहरूमध्ये केहीले उद्घाटनको धार्मिक पक्षको विरुद्धमा थिए।
वास्तवमा मोदीले गरेको संसद उद्घाटन मन्दिर उद्घाटन जस्तै देखिन्छ। यसबाट वैज्ञानिक स्वभावमा आधारित मोहनदास गान्धी र जवाहरलाल नेहरूको संवैधानिक भारत हराउँदै गएको देखिन्छ। धर्म राजनीतिभन्दा (माथि वा व्यक्तिगत वा राजनीतिसँग असंबद्ध आध्यात्मिक) अलग हुने भएकोले आधुनिक राजनीति विज्ञानमा धर्मलाई राजनीतिभन्दा बाहिर राखिएको हो।
मानव निर्मित संविधान र कानुनद्वारा राज्य शासित हुनु पर्छ भन्ने आधुनिक मान्यता छ। वैज्ञानिक स्वभावका आधारमा शासन गर्नु आधुनिक संविधानको सिद्धान्त हो। संसदको उद्घाटन समारोहले भारत हिन्दू धर्म केन्द्रित राज्य बन्दै गएको देखाउँछ। केहीले त भारत ‘हिन्दूपाकिस्थान’ बन्दै छ पनि भन्छन्। आलोचनात्मक कला सिद्धान्तका आधारमा अखण्ड भारतको ‘म्युरल’ वास्तविकता नभई ‘प्रोपोगान्डा’ हो कि होइन?
पोगान्डाका लागि प्रयोग गरिने पोस्टर, भित्तेचित्र, चित्रकला, मूर्तिकला विशेष विचारधारा वा राजनीतिक सन्देशलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सिर्जना गरिएका कलाकृतिहरू हुन्छन्। सरकारहरू, राजनीतिक दलहरू वा शक्तिशाली संस्थाहरूले जनमतलाई आकार दिन, समर्थन जुटाउन वा कलात्मक माध्यमबाट धारणाहरू हेरफेर गर्न यस्तो कला प्रयोग गरिन्छ।
वास्तवमा मोदीले गरेको संसद उद्घाटन मन्दिर उद्घाटन जस्तै देखिन्छ। यसबाट वैज्ञानिक स्वभावमा आधारित मोहनदास गान्धी र जवाहरलाल नेहरूको संवैधानिक भारत हराउँदै गएको देखिन्छ।
कुनै विशेष विचारधारा वा व्यक्तिको एकतर्फी प्रतिनिधित्व प्रस्तुत गरेर दर्शकहरूको विचार, विश्वास वा व्यवहारलाई प्रभाव पार्ने उद्देश्य हुन्छ। प्रतीकहरू सांस्कृतिक वा राजनीतिक रूपमा हुन सक्छन्, विशेष अर्थ वा संघहरू बोक्न सक्छन्। पोस्टर, भित्तेचित्र, चित्रकला, मूर्तिकला वा डिजिटल मिडिया जस्ता विभिन्न रूपहरूमा पुन: उत्पादन गर्न सकिन्छ। प्रचार कलाको आफ्नो नेताहरूलाई आदर्श र विरोधीहरू राक्षसी बनाउँछ। यसले एक सरलीकृत नक्कली कथा निर्माण गर्दछ। विरोधी दृष्टिकोणलाई बदनाम गर्दै प्रचारकको स्थितिको गुणहरूलाई बढावा दिन्छ। नाजी जर्मनीले आर्यन श्रेष्ठतालाई बढावा दिन कलाको प्रयोग गरेको थियो। माथि उल्लेखित विवरणमा भारतीय भित्तेचित्र (म्युरल) कुन श्रेणीमा पर्छ? पाठकहरूले आफैँ पत्ता लगाउन सक्छन्।
आलोचनात्मक सिद्धान्तले कलाको व्याख्या गर्ने स्थापित मानदण्डहरू छन्, जसअन्तर्गत विचारधाराहरू, शक्ति संरचनाहरू, पदानुक्रमहरूलाई चुनौती र प्रश्न गर्न सकिन्छ। कलाको सामाजिक परिवर्तन, राजनीतिक र सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्य हुन्छ। मानव समुदाय, लिङ्ग, वर्ग, कामुकता र औपनिवेशिकताका मुद्दाहरू सहितको कलाले पहिचानलाई निर्माण र प्रतिनिधित्व गर्छ।
सौन्दर्यशास्त्रको परम्परागत धारणाहरू, कलात्मक मूल्य र कलाको संवेदी अनुभवको वैकल्पिक बुझाइका लागि आलोचनात्मक सिद्धान्त आवश्यक बन्छ। सामाजिक र राजनीतिक रूपान्तरणको लागि उत्प्रेरकको रूपमा कार्य गर्न कलाको सम्भाव्यताको खोजी र सांस्कृतिक उत्पादकहरूको रूपमा कलाकारहरूको भूमिका आवश्यक बन्छ। आलोचनात्मक कला सिद्धान्तले मार्क्सवाद, नारीवाद, उत्तर-औपनिवेशिक सिद्धान्त, विचित्र सिद्धान्त, र उत्तरसंरचनावादसहित विभिन्न सैद्धान्तिक ढाँचा र दृष्टिकोणहरू समेट्छ। यसले अन्तरविषय परिप्रेक्ष्यलाई प्रोत्साहित गर्छ र समाजमा कलाको उत्पादन र प्रभावमा महत्वपूर्ण अन्तर्दृष्टि प्रदान गर्न समाजशास्त्र, सांस्कृतिक अध्ययन, दर्शन, र राजनीतिक सिद्धान्तजस्ता क्षेत्रहरूसँग संलग्न हुन्छ।
भारतको नयाँ संसद भवनमा ‘अखण्ड भारत’का नाममा दक्षिण एसियाली उपमहाद्वीपको नक्साको ‘भित्तेचित्र’ (म्युरल)ले नेपाल लगायत यस भू-भागका अन्य राज्यहरूको सार्वभौम क्षेत्रको कृत्रिम विवाद सिर्जना गरेको छ। भित्तेचित्रले सांस्कृतिको नाममा हिन्दू धार्मिक कट्टरपन्थको प्रदर्शन गरिएको देखिन्छ, यसलाई नेपालका हिन्दूले कसरी परिभाषित गर्ने हुन्, त्यो भने हेर्न बाँकी छ। आशा गरौँ, नेपालीहरु भारतीय हिन्दूको जालमा फस्ने छैनन् (र नेपाली पहिचान छाड्ने छैनन्)।
दक्षिण एसियाली उपमहाद्वीपका अन्य देशहरूका अन्यधर्म अनुयायीहरू आश्चर्यचकित हुन सक्छन्। किनभने सन् १९४७ मा भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र हुनुअघि हाल प्रदर्शन गरिएको नक्सा जस्तो भारत एउटै सार्वभौम देश कहिल्यै पनि थिएन। ‘रामायण काल’, ‘महाभारत काल’, ‘मुगलकाल’, ‘सम्राट अशोक काल’ वा ‘ब्रिटिसकाल’ मा यस्तो बृहत् भारतको वर्णन गरिएको छैन। यो ‘भित्तेचित्र’ कहाँबाट आयो? वेद-पुराणका ‘जम्बुद्वीपे भारत खण्डे’ जस्ता आख्यान न इतिहास हो, न भूगोल। यदि यस्ता आख्यान सत्य हुन् भने ‘वसुधैव कुटुम्बकम’ दर्साउने ‘भित्तेचित्र’ संसदमा किन निर्माण गरिएन?

भारतको नयाँ संसद भवनको भित्तामा बनाइएको ‘अखण्ड भारत’को भित्तेचित्र। तस्बिर : जोशी प्रह्लाद/ट्विटर
इतिहासलाई न कालोपाटीमा लेखेका शब्दहरु जस्तो मेटाउन सकिन्छ, न पुननिर्माण गर्न नै। इतिहास निर्माणमा निरन्तर बनिरहने क्रम चलिरहन्छ र निरन्तर जागरूप हुन्छ। ‘इतिहास दोहोरिन्छ’ वा ‘इतिहास फेरि भेटौंला भन्छ’ भन्ने कुरा इतिहासका बारेमा गरिने अज्ञानी मजाक हुन्।
भारतीय उपमहाद्वीपको ‘भित्तेचित्र’ भित्तेचित्र संस्कृतिको गलत व्याख्या हो। अखण्ड भारत भित्तेचित्रभन्दा दक्षिण एसियाली उपमहाद्वीपको वर्तमान राजनीतिक नक्सा विल्कुलै फरक छ। भौगोलिक रूपमा सम्पूर्ण दक्षिण एसियाली उपमहाद्वीप अफ्रिकाबाट टुक्रिएको थियो। आज पनि अफ्रिकी महाद्वीप टुक्रिँदैछ र एउटा नयाँ महासागरको जन्म हुँदै छ (३ हजार किलोमिटर फैलिएको, पूर्वी-अफ्रिकी रिफ्ट भ्याली उत्तरमा एडेनको खाडीबाट दक्षिणमा जिम्बावेसम्म)। इतिहासमा कति टाढा जान सकिन्छ? यस्तो बेतुक नक्साको कुनै पनि गम्भीर भारतीय बौद्धिकहरुले कसरी औचित्य दिन सक्छ? भावी पुस्तालाई किन झुटो इतिहास पढाउँछौ?
पाब्लो पिकासोको ‘गुएर्निका’ चित्रकला सबैभन्दा प्रसिद्ध कार्यहरूमध्ये एक मानिन्छ। यसलाई आलोचकहरूले इतिहासमा सबैभन्दा गतिशील र शक्तिशाली युद्धविरोधी चित्रको रूपमा मान्छन्। गुएर्निका तेल चित्रकला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कक्ष बाहिरको भित्तामा झुण्ड्याइएको छ। लियोनार्डो दा भिन्चीको ‘मोना लिसा’ संसारको रहस्यमय मुस्कानको सबैभन्दा प्रसिद्ध चित्रकला मनिन्छ। काठमाडौं उपत्यकाका प्यागोडा विश्वकै अद्वितीय वास्तुकला हुन्। ताजमहललाई प्रेम र वास्तुकलाको प्रतीक मानिन्छ। व्यक्तिगत रूपमा लेखक ललितकलाको आधारभूत ज्ञान नभएको सामान्य व्यक्ति भएकोले यसबारे धेरै बोल्ने हिम्मत छैन। यो भन्नु पर्छ कि उपमहाद्वीपको नक्साको ‘म्युरल’ अनौठो देखिन्छ।
इतिहासलाई न कालोपाटीमा लेखेका शब्दहरु जस्तो मेटाउन सकिन्छ, न पुननिर्माण गर्न नै। इतिहास निर्माणमा निरन्तर बनिरहने क्रम चलिरहन्छ र निरन्तर जागरूप हुन्छ। ‘इतिहास दोहोरिन्छ’ वा ‘इतिहास फेरि भेटौंला भन्छ’ भन्ने कुरा इतिहासका बारेमा गरिने अज्ञानी मजाक हुन्।
भारत सरकारले आफ्नो हिन्दू राष्ट्रवादी इतिहास पुनर्लेखन गर्दैछ। सन् १९४८ मा हिन्दू राष्ट्रवादी नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेको तथ्य हामीले सुन्दै आएका छौँ। तर यो तथ्यलाई भारतमा विद्यालयको पाठ्यपुस्तकबाट मेटाइँदैछ। बीजेपीका राष्ट्रिय प्रवक्ता गोपालकृष्ण अग्रवालको भनाइमा यो इतिहास पुनः लेख्ने होइन, बरु केही इतिहासकारको ‘पक्षपाती दृष्टिकोण’लाई पुनः सन्तुलित गर्ने तरिका हो। सरकारको आलोचनालाई राष्ट्रविरोधी मान्ने भाजपा नीति छ। माथि उल्लेखित ‘भित्तेचित्र’ (म्युरल) एक पुस्तकको रुपमा पढ्ने हो भने नक्कली इतिहास र ‘प्रोपोगान्डा आर्ट’बाहेक अन्य व्याख्याको सम्भावना छैन।
‘नैतिक भूगोल’
चित्रकला, भित्तेचित्र, पुस्तक र वास्तुकलालाई कसरी पढ्ने? आपसमा दुई विपरीत बिन्दु (कोन्ट्रापुन्टल) पढ्ने विधिका बारेमा एडवर्ड सइदले कल्चर एन्ड इम्पेरलिज्म (सन् १९९३)मा सोचनीय निम्नानुसार वर्णन गरेका छन्, ‘जब तपाईं जेन अस्टिनद्वारा लिखित शानदार, सुरुचिपूर्ण र विडम्बनापूर्ण उपन्यास पढ्नुहुन्छ के तपाईं औपनिवेशिक दासत्वको बारेमा सोच्नुहुन्छ?’ यो प्रश्न उठाएकोमा सइदलाई एङ्ग्लोसेक्सनले पश्चिमसंसार-विरोधी भनेर आलोचना गरेको थियो। यद्यपि जेन अस्टिनप्रति सइद ठूलो आदर गर्थे। जेन अस्टिन एक प्रसिद्ध ब्रिटिस लेखक हुन्। अस्टिनको म्यानफिल्ड पार्क (सन् १८१४) उपन्यासको बारेमा सइदले कल्चर एन्ड इम्पेरलिज्मको सबैभन्दा राम्रो अध्यायमा ‘नैतिक भूगोल’को विश्लेषणले देखाउँछ। म्यानफिल्ड पार्कको एक प्रमुख पात्र सर थोमस बर्ट्रामले आफ्नो समृद्धिका लागि क्यारिबियन जान्छ, तर उपन्यास पढ्दा थोमसको समृद्धि दास-सञ्चालित सम्पत्तिमा चलिरहेको देख्न सक्दैनौँ। अर्थात्, त्यो विषयमा उपन्यास मौन छ वा अस्टिन अनभिज्ञ देखिन्छन्। यसरी लेखक र पाठकले विपरीत परिप्रेक्ष्य (काउन्टरपोइन्ट) जागरूकता देखाउनुपर्छ भन्ने सइदको भनाइ छ।
केन्द्र र परिधि, विगत र वर्तमान, शक्ति र व्यक्ति, संस्कृति र राजनीतिलाई एकसाथ राख्ने र मौलिक रुपमा पढ्नुलाई सइदले ‘कन्ट्रापन्टल’ भन्छन्। यसका साथै नोबेल पुरस्कार विजेता लेखक रुडयार्ड किपलिङको उपन्यास किम (सन् १९०१)लाई पनि ‘कन्ट्रापन्टल’ विधिमार्फत पढ्नका लागि सइद सुझाव गर्छन्। किपलिङको किम सबैभन्दा प्रसिद्ध उपन्यास हो। यो भारत आइपुगेका एक आयरिस अनाथको कथा हो, जो ब्रिटिस जासुसी सिक्दै तिब्बती भिक्षुको चेलो बन्छ। लेखकले आफ्नो उपन्यास पात्रलाई आफ्नो उद्देश्यका लागि कसरी प्रयोग र दुरुपयोग गर्छन् भनी सइद अंकित गर्छन्; जस्तै ‘किम’मा एक पात्र भन्छ- ‘ब्रिटिस नभएको भए भारतको अस्तित्व नै हुने थिएन’। त्यसैले चित्रकला, भित्तेचित्र र पुस्तकलाई दोहोरो चेतनाका साथ बुझ्नुपर्छ। सइदले किपलिङको किमलाई साम्राज्यवादी डिजाइनको रूपमा आलोचना गरेका छन्। सइदको आलोचनात्मक सिद्धान्त दुरुपयोग पनि गरिएको छ।
बीजेपीका बौद्धिकहरू फुकोको गहिरो दर्शनभन्दा बाहिर छन्। त्यसैले नेपाली इतिहासकारले भारतीय इतिहासको पुनर्लेखनलाई पछ्याउनु हुँदैन, इतिहासका पाठकहरूमा जागरूकता आवश्यक छ।
‘ओरिएन्टलिज्म’लाई वामपन्थी र दक्षिणपन्थीद्वारा गलत बुझिएको थियो भनेर सइदले आफ्नो पुस्तकको पछिल्लो संकरणमा भनेका छन्। वामपन्थीले मार्क्सवादविरोधी र दक्षिणपन्थीले सांस्कृतिक संरक्षणको नाममा धार्मिक कट्टरपन्थको प्रचारका लागि प्रयोग गरेका छन्। इस्लामिक मुल्लाहहरू र भारतमा भाजपा (उपमहाद्वीपको म्युरल) यसका उदाहरण हुन्।
जटिलता, अस्पष्टता, तनाव र जागरूकताबारे पाठकलाई सइद लेख्छन्, ‘पश्चिम, पूर्व, ओरिएन्ट, अक्सिडेन्ट, युरोपेली दिमाग, अफ्रिकी दिमाग, एसियाली स्प्रिट, जापानी दिमाग, इस्लाम, इसाई धर्म आदि वर्गीकरणमा केही सत्यता छ। तर तीमध्ये अधिकांश वैचारिक सामाजिक निर्माण (सोसल कन्सट्रक्ट) हुन्, तिनीहरू काल्पनिक पहिचान हुन्, तिनीहरू सांस्कृतिक युद्धका हतियार भएका छन्।’
दक्षिण एसियाली उपमहाद्वीपको म्युरल सांस्कृतिक युद्धको एक नयाँ शस्त्र वर्तमान भारत सरकारले आविष्कार गरेको छ। भारतमा इतिहास लेखन विधामा ‘वैकल्पिक सत्य’ सिर्जना गर्ने प्रयास भइरहेको छ। यसरी इतिहासको दुरुपयोग हुनु चिन्ताको विषय हो। मिसेल फुकोले ‘द आर्कियोलाजी अफ नलेज’मा ऐतिहासिक विधिलाई निर्दिष्ट गर्न ‘पुरातत्त्व’ शब्द प्रयोग गरेका छन्। उनले इतिहास र विचारहरूको परम्परागत इतिहासबाट ‘पुरातत्त्व’ कसरी भिन्न छ भनेर स्पष्ट पारेका छन्। पुरातत्त्वले लुकाइएका (वा प्रकट गरिएका) विचारहरू परिभाषित गर्न खोज्छ।
फुकोका अनुसार पुरातत्त्व-इतिहास ‘सत्य’को पुनर्गठन होइन। इतिहास कुनै समय र स्थान आदिको व्यवस्थित विवरण शृंखला हो। जसरी वर्तमान परिवर्तन हुँदै जान्छ, त्यसरी ऐतिहासिक विवरण ज्ञानको वर्तमान अवस्थाद्वारा क्रमबद्ध हुन्छन्। तिनीहरू प्रत्येक रूपान्तरणका साथ बढ्दै जान्छन्। कहिल्यै बन्द हुँदैनन्। बीजेपीका बौद्धिकहरू फुकोको गहिरो दर्शनभन्दा बाहिर छन्। त्यसैले नेपाली इतिहासकारले भारतीय इतिहासको पुनर्लेखनलाई पछ्याउनु हुँदैन, इतिहासका पाठकहरूमा जागरूकता आवश्यक छ।

