२०८३ साउन ११ गते सोमबार

‘सिङ्गो देश डिप्रेसनमा छ’

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, साउन ५
krishna_rimal

पुसका २५ छोटा दिनहरू बितिसकेका थिए। शरीरमा अलिक भिन्न खालको असहजता महसुस भएपछि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेँ। प्रयोगशालाको रिपोर्टमा भिटामिन डी ८ अंकमा झरेको देखियो। डा. साहेबले, ‘तपाईंमा डिप्रेसनका केही लक्षण आएका हुनुपर्छ,’ भन्नुभयो। हुनसक्थ्यो। खासमा डिप्रेसन हुँदो के रहेछ भने, डिप्रेसनमा हुँदा डिप्रेसनमा छु भन्ने थाहै नहुँदो रहेछ।

स्वभावमा आएका केही साधारण बदलावको चर्चा पछि डा. साहेबले एउटा निर्मम वाक्य भन्नुभयो, ‘रिमालजी, यो बायपोलार डिसअर्डर भएको समाज हो। साधारण डिप्रेसन हामी सबैमा हुन्छ। ६०,००० आईयूको सप्लिमेन्टरी औषधि लिनु। अलि चिल्लो धेरै हुने खानेकुरा खाएपछि दूधमा घोलेर हप्ताको एकपटक मात्रै, एउटै समय मिलाएर आठ हप्ता खानुहोला, फेरि हेरौँला।’

एघारौँ हप्ता पछि पुगेर हेरेँ। ४५ पुगेछ। राम्रै भएछ।

एन्ड्र्यु सोलोमनले भनेका छन्, ‘डिप्रेसनको सबैभन्दा खराब पक्ष भनेको यसले भविष्यको कल्पना गर्ने क्षमता नै खोसिदिन्छ।’

डिप्रेसन एउटा यस्तो चस्मा लगाउनु हो, जसले संसारका सारा रङहरू खोसेर लगिदिन्छ र सबै कुरालाई खैरो वा कालो देखाइदिन्छ।

विन्स्टन चर्चिलको ब्ल्याक डग बारे कत्तिको जान्नुहुन्छ? एन्ड्र्यु सोलोमनको द नूनडे डेमन, ह्यारी पोटरकी लेखिका जेके रोलिङका डिमेन्टर्स, सिल्भिया प्लाथको द बेल जार, अथवा प्रसिद्ध मनोविज्ञानविद् सिग्मन्ड फ्रायडको एन ओपन वुन्ड, नभए अल्बेर कामूको द मिथ अफ सिसिफस आदिबारे कतै कहिल्यै पढ्नुभएको, खोज्नुभएको वा सुन्नुभएको छ? छ भने, यिनीहरू सबैले एउटै कुराको संकेत गर्छन् र महान् दार्शनिक प्लेटोको काल्पनिक गुफामा लैजान्छन्, जहाँ केही कैदीहरू जन्मैदेखि उक्त अँध्यारो गुफामा साङ्लोले बाँधेर राखिएका छन्। गुफाको भित्रातर्फ फर्किएका उनीहरूको ठीक पछाडि गुफाबाहिर आगो बालिएको छ। उक्त आगोको प्रकाशले गुफाको भित्तामा केही छायाँ आकृतिहरू देखिन्छन्। ती कैदीहरूका लागि संसार नै त्यत्ति हो, त्यही हो। सन्दर्भले हामीलाई तिनै कैदीजस्तै बनाउँदै लगेको छ।

प्रसिद्ध फोटोग्राफर डोरोथिया ल्याङले खिचेकी ३२ वर्षीया आदिवासी कृषक महिला फ्लोरेन्स ओवेन्स थम्पसन, जो ३२ वर्षमै ७ सन्तानकी विधवा आमा थिइन्, उनको तस्बिर यहाँ स्मरणीय छ। जुन तस्बिर पछि माइग्रेन्ट मदर का नामले विश्वप्रसिद्ध भयो। हिउँले केराउ खेती नष्ट पारेपछि सन्ततिको पालन सम्झेर निराश बनेकी ती आमा र सम्भावना, आशा र सपना सबै नष्ट गरेको अदृश्य शक्तिसँग निराश बनेकी नेपाल आमा अचेल मलाई उस्तै–उस्तै लाग्छ।

मलाई हिजोआज के लाग्न थालेको छ भने, हामी पछिल्ला ३–४ दशकदेखि नै बायपोलार डिसअर्डरमा रहेछौँ। यसको मूल स्वरूप म्यानिया  र डिप्रेसन हुन्। हामीकहाँ यी दुई ६०:४० को अनुपातमा रहेछन् कि जस्तो लाग्छ। अनावश्यक खुसी, उग्र समर्थन वा विरोध, बेकारको हतारो, तत्कालका लागि नचाहिएका ठूला–ठूला योजना, अनावश्यक आत्मविश्वास, तालीका लागि ठूलो स्वरमा बोलिने हेपाहा, अशिष्ट, अप्रिय र अपमानजनक शब्दहरू, आडम्बरी जीवनशैली, फजुल विकासे आयोजनाहरू, घटनाहरूले पुष्टि गरेका उग्र सामाजिक यौन मनोविज्ञानका कुरूप र घृणाभरिएका घटनासहितका चित्र र चरित्रहरूले हाम्रो समाज म्यानियाको उन्मादमा रहेको स्पष्ट पार्छन्। फरक प्रवृत्तिमा रहेको बाँकी समाज गहिरो उदासी, आशाविहीनता, आत्मग्लानि, हीनताबोध र नकारात्मक सोचबाट सँगसँगै गुज्रिँदै आएको छ।

यसरी डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा भरपर्दो नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। कोही आओस् र यस्तो जादुमयी काम गरिदियोस् कि सबै समस्या क्षणभरमै समाधान हुन् वा हराऊन्। बदलामा हामी फूलमाला र शाब्दिक प्रशंसा गरिदिनेछौँ, काम चाहिँ होइन। छुट्टाछुट्टै अनुहार भएका पात्रहरू छुट्टाछुट्टै समयमा त्यो तहसम्म देवत्वकरण गर्नुपर्ने आवश्यकता नहुँदानहुँदै पनि देवत्वकरण गर्नु यस्तो समाजको दिनचर्या हुँदो रहेछ। मान्छेलाई देवता बनाउने कुनै पनि समाज आफ्नो आत्मविश्वासमा हुँदो रहेनछ।

यसरी देवत्वकरण गरिने पात्रको औसत आयु ३ देखि ५ वर्षसम्मको हुँदो रहेछ। समय घर्किन थालेपछि नयाँ पात्रको देवत्वकरण सुरु हुन्छ र पुरानो पात्रको दानवीकरण सुरु हुँदै जान्छ। आशावादी समाजले यसरी नै देवत्वकरण र दानवीकरणमै आफ्ना सम्भावित क्षमता र ऊर्जा सबै सक्दो रहेछ। यही शृङ्खलाको अनन्ततामा समाज सधैँ खुसी र दुःखी भई बस्दो रहेछ। मैथुनिक प्रजननबाट जन्मिएकाहरूबाट अलौकिक आशा गर्नुको सट्टा उसका बलिया र कमजोर पक्षको सफा विश्लेषण गर्नुअघि नै म्याद गुजारिने यस्तो समाजको अनिवार्यता हुँदो रहेछ।

पैदल हिँडेर देशाटनमा निस्कनुभयो भने भिन्न–भिन्न स्थानमा निर्माण भएका भिन्न–भिन्न शैलीका बाटाघाटा, पाटीपौवा, कुवा–इनार, ठाँटी तथा चौताराहरू पाउनुहुनेछ। के यस्ता सम्पदा अहिलेको पुस्ताबाट सम्भव छन्? मलाई चाहिँ लाग्दैन। आफ्नै खेतमा सिँचाइ गर्ने कुलोको साधारण पहिरो पन्छाउन सरकार कुर्ने तहमा पुगेको समाजमा अब यस्ता सम्पदा दिवास्वप्न मात्रै हुन्। तर यति प्रविधि, उपकरण र सहजता हुँदाहुँदै पनि नहुने यस्ता काम त्यो समयमा कसरी भए भनेर समीक्षा गर्नु चाहिँ जरुरी हुन्छ।

खासमा त्यो समय समृद्ध समय थियो। हामीसँग जस्ता महत्त्वाकांक्षा धेरै थिएनन्, अथवा सफलताका मानक समाजले सजिला र सामूहिक हितसँग जोडेको थियो। १२ महिनामध्ये ४–५ महिना समाज सक्रिय श्रममा जुट्थ्यो। खेतीबाली लगाउने, भित्र्याउने, वस्तुभाउको स्याहार–सुसार र जोहो तथा नुन, तेल, लत्ताकपडाको साधारण सञ्चितिपछि बाँकी समयको पुरै समाजको श्रम अहिले भनिने ‘क्वालिटी टाइम’को रूपमा रहन्थ्यो। त्यति नै बेला सामूहिक महत्त्वका बाटाघाटा, चौतारा तथा गाउँ छुट्ट्याउने सिमानामा बाँध्ने पर्खाल लगाउने तथा बस्ती सुन्दरताका लागि काष्ठकला, शिल्पकला, शिलाकला तथा ताम्रकलाका ढाँचाहरूको छलफल र सीपको श्रीवृद्धिका कामहरू हुन्थे। मानव शरीर सुन्दरताको वस्त्रकला, स्वर्णकला, शृङ्गार, आभूषण तथा सुगठित शरीरका लागि व्यायाम र खाद्यविज्ञानका नयाँ तरिकाहरूको खोजी मानव मस्तिष्क आफैँले गर्थ्यो। जीवन साधारण तर शैली उच्च थियो।

समय बदलियो। समाजले उन्नति वा सफलताको मानक बदल्यो। अरूले विकास गरेको ठाउँमा १५–१७ हात जग्गा जोडेर कैदी जीवन बिताउनुलाई सामाजिक सफलता मानियो। फलस्वरूप पानी, यातायात, शिक्षा र स्वास्थ्यमा केही सहजता भएका सीमित स्थानहरूमा कङ्क्रिटका जङ्गलजस्ता घरहरू ठडिए। आर्थिक सफलताको रङ हेरिएन, अंक हेरियो। नोटहरूको जस्तै पैसाको पनि रङ हुन्छ भनेर समाजले आफ्नो व्यवहारमा देखाउन सकेको भए अनावश्यक हतारो वा पूरा नहुने रहर बोकेर हाम्रा सन्तति ऊर्जा खर्च गर्न विदेशिँदैनथे। समाज, परिवार र आफ्नोपनसँग जोडिन पाएको भए समाज अहिलेको जस्तो म्यानिक वा डिप्रेसनको तहमा पक्कै हुँदैनथ्यो। जब हामी दैनिक ९–५ अथवा अर्को कुनै समय–ढाँचाको स्वरूपमा काम गर्न थाल्यौँ, त्यहीबाट हाम्रो सभ्यता रोकिएको हो। कार्य वातावरण, कार्य समय, कार्य पद्धति तथा कार्यविधिले हाम्रो मस्तिष्क हुँदै परिवार, समाज र देशमा गहिरो प्रभाव छोडेको छ।

हामीले सन्तानको वात्सल्य, अभिभावकको प्रेरणा, माया र भरोसाभन्दा अझै डरलाग्दो गरी गुमाएको अर्को पक्ष छ—सामाजिक नैतिकता। मिलीभगतका साना–साना आर्थिक लाभको दुष्चक्रले हाम्रो विश्वासलाई हाम्रा सन्ततिबाट खोसिदियो। नैतिक आचरण शाब्दिक भाव र प्रदर्शनमुखी बनेको समाजमा नैतिक आधार गुम्दै जाँदा अन्य आधारहरू आफैँ भत्किँदै गए। एउटै खानेपानीको मूललाई लिएर फरक–फरक शक्ति–समूहको समर्थनमा फरक–फरक खानेपानी आयोजनाहरू सम्पन्न त गर्यौँ, तर त्यहाँ धारा कहिल्यै बनेन।

सरकारले अन्यत्रबाट मागेर ल्याएका जुनसुकै अनुदानहरू पनि लिन आफूलाई बिर्सेर लाइनमा उभियौँ, तर सोचेनौँ—हामी त तिनै पुर्खाका सन्तति हौँ, जसले यही देशको सम्मानका लागि आफ्ना सबै खुसी त्यागे, बलिदान गरे। एकै ठाउँ पुग्नलाई छुट्टाछुट्टै बाटो निर्माण गर्यौँ, तर त्यही बाटो हुँदै जब बस्ती रित्तिन थाले, त्यतिबेलासम्म पनि आडम्बर मेरो बाटोबाट माथि उक्लिन सकेन। गर्न सकिने, मिल्ने–नमिल्ने सबै बदमासी गर्यौँ, जाने–बुझेका सबै ठगी, धन्दा सम्पन्न गर्यौँ, अलिअलि कमायौँ पनि; तर जब रमाउने समय आयो, रोगले समायो, सन्ततिले छोडे। अब फेरि हामीसँग डिप्रेसन मात्रै बाँकी रह्यो। आफैँले बनाएको घरको छतमा आफ्नै खुट्टाहरू जान नमान्ने बेला आउँछ भन्ने थाहा थियो, तर पनि सोचेनौँ—होचो घर र अग्लो मन बनाउन। समाजमा सधैँ अहङ्कार, ईर्ष्या, अपमान र असमानताबाट पीडित र लाभग्राही दुवै अहिले डिप्रेसन नै बोकेर देशमा उभिएका छन्। विपरीत घटनाबाट एउटै रोगसम्म पुग्नु रहेछ त, पहिल्यै हाम्रा आँखा किन खुल्दैनन्?

क्रोमोजोमको माध्यमबाट सरेका आनुवंशिक गुणहरूले यसलाई समर्थन गरेको कारण पनि हुन सक्छ—हामी अहिले पनि डिप्रेसनमै छौँ। भइरहने उतार–चढाव तथा दोहोरिरहने अदली–बदलीले पनि सधैँ निराशा मात्र प्रदान गर्नु सधैँ संयोग मात्रै हुँदै होइन। कि हामी राम्रोसँग आशा गर्न नसक्ने छौँ, कि हाम्रा आशाका लागि हामीले न्यूनतम आवश्यकता वा योग्यताहरू पूरा गर्न सकेका छैनौँ। पुरै देश खुम्चिएर प्रदेश मुकाम र सङ्घीय राजधानीमा साँघुरो भइसकेको छ। साधारण सुविधाको भोगचलनका लागि सधैँको हुलदङ्गा तथा बैमनस्यताबाहेक अरू देखिँदैन। सबैभन्दा खतरनाक छ—श्रमबिनाको सम्मान, योगदान वा त्यागबिनाको उपलब्धि, राम्रो पाचनबिनाको आहार, मन–मस्तिष्कको बनोट र प्रकृति तथा जीविकासँग नजोडिएको शिक्षा। संस्कार र लय गुमाउँदै गएको हाम्रो देशले सधैँ नायकको खोजीमा आफूभित्र रहेको नायकत्वलाई विकसित हुनै दिएन। पछिल्लो समय झन् विकराल बन्दै गइरहेको छ। सामाजिक सञ्जालले मोबाइल चलाउने औँलाबाहेक हाम्रो आफ्नै केही पनि बाँकी राखेको छैन। यही सञ्जालको मोहिनी जालले हामीलाई थप बेताल बनाइरहेको छ। अरूको आँखामा आँखा जुधाएर प्रश्न गर्ने क्षमता बिर्सेर यान्त्रिक बुढीऔँलासँग आफ्ना औँला जुधाएका छौँ। जानेर–नजानेर, चाहेर–नचाहेर सञ्जालले पनि हामीलाई म्यानिक वा डिप्रेसनको बाटो हिँडाएको छ।

मौलिक चेतना, सभ्यता र ज्ञानलाई भिटामिन डीको ट्याब्लेटजस्तै समाजभरि र सञ्जालभरि बाँडौँ, खुवाऔँ। यो डिप्रेसन पुरै नसुध्रिए पनि घटेर चाहिँ पक्कै जानेछ।

इति।

प्रकाशित: २०८३ साउन ५ गते मङ्गलबार ०४:४८
प्रतिक्रिया

थप समाचार

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...

‘सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिने हो’

भावना र नोस्टालिजयालाई एकातिर राखेर यथार्थमा सोच्ने बेला आएको छ। डुबिसकेको पैसालाई हेरेर हामीले आफ्नो भविष्यको लगानी पनि तिनै सेतो हात्ती पाल्न खर्च गर्ने कि नयाँ प्रविधि र पूर्वाधारमा?
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना