२०८३ साउन ११ गते सोमबार

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

 |  रोशन रखाल
Sanket

रोशन रखाल

काठमाडौँ, असार ३१
c1e6d647-e00c-4db4-9702-68091d60dba7

व्यापारको छेको पारेर साम्राज्यवाद फैलाउँदै आएका अङ्ग्रेजहरूले पूर्वमा टिष्टा र पश्चिममा काँगडा सीमा भएको हाम्रो मुलुकमा आक्रमण गरे। हाम्रा पुर्खाहरूले आफ्नो वीरता र मूर्खता एकै पटक प्रदर्शन गरे। हाम्रो वीरतासँग आकर्षित भएका तथा मूर्खताको लाभ लिन सकिने देखेपछि हाम्रा जवान पुर्खाहरूलाई काँधमा बन्दुक बोकाएर आफ्नो साम्राज्यवादी यात्राको लागि प्रयोग गर्न लागे।

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे बनेर घर पैसा पठाए।

नेपाल-अङ्ग्रेज युद्ध सकिएपछि १८१५ मा देहरादुनमा नसिरी बटालियन स्थापना गरेर बेलायती सेनाको भर्ती केन्द्र (रिक्रुट) खुल्यो। यही अङ्ग्रेजी शब्द ‘रिक्रुट’ को अपभ्रंश शब्द ‘रिकुटे’ थियो।

लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासका जवान पात्र झुमा र रिकुटे चरित्र विशेष आजको पेरिफेरीमा पनि उस्तै उस्तै लाग्छ। पञ्जाब राज्यका राजा रणजित सिंहको सेनामा भर्ती हुन पहिलो पटक नेपालीहरू हाल पाकिस्तानमा पर्ने लाहोर गए। यसरी विदेश जानेहरू लाहुरे भए। यसरी मृत्युलाई व्यवसाय बनाएर सुरु भएको हाम्रो यात्रा अहिले ‘डर्टी, डेन्जरस र डिफिकल्ट’ कामको लागि लाहुरे बनिरहेका छौँ, धानिरहेका छौँ। यसरी नेपालीले विदेशको पाहुर, कोसेली, नासो आदिको स्वरूपमा सुन र विदेशी मुद्रा भित्र्याइरहेका थिए, जसलाई हामीले अहिले रेमिट्यान्स भनिरहेका छौँ।

ल्याटिन शब्द ‘रेमिटर’ (रे- फिर्ता, मिटरे- पठाउनु) नजिकको भावानुवाद हो। ओल्ड फ्रेन्च र मिडिल इङ्ग्लिसहरूले ‘रेमिटन’ भनेर प्रयोग हुने शब्दको नजिकको नेपाली भावानुवाद ‘छुट वा माफ दिनु’ भन्ने हुन्छ। ‘ट्रान्समिट’, ‘सबमिट’, ‘पर्मिट’, ‘एडमिट’, ‘कमिट’ जस्ता पछाडि ‘मिट’ आउने सबै शब्दहरूले लगभग एकै भावको अर्थ बोकेका छन्, जुन ‘रेमिट्यान्स’ को छोटो रूप ‘रेमिट’ सँग मिल्छ।

१५ औँ शताब्दीमा युरोपभरि नै चर्च र पादरीहरूको वर्चस्व थियो। राज्यका नियमहरूले भन्दा चर्चहरूका निर्णयहरूले बढी प्रभाव पार्थ्यो। त्यतिबेला पादरीहरूले ‘रेमिट’ शब्दको चरम दुरुपयोग गरेको पाइन्छ। तिमीले चर्चलाई पैसा दियौ भने भगवानले तिम्रो पाप ‘रेमिट’ गरिदिनुहुन्छ अर्थात् माफ गरिदिनुहुन्छ, तिमीहरू सिधै स्वर्ग जान पाउनेछौ। नेपालमा पनि मलाई राज्यले गरेको पापलाई प्रत्येक नेपाली ‘रेमिट’ पठाएर धोइरहेका छन् जस्तो लाग्छ। तर त्यतिबेलाका युरोपेली नागरिक स्वर्ग गए-नगए जस्तो, नेपाल राज्यको पाप पनि पखालियो-पखालिएन थाहा भएको छैन। शब्दको मर्म जे-जे भए पनि आज नेपाल जस्ता सबै विकासोन्मुख देशको पुँजी निर्माणको आधार रेमिट्यान्स नै हो।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाह ३८२ प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५६ प्रतिशतले बढेको थियो। २०८३ जेठ महिनामा विप्रेषण आप्रवाह रु २ खर्ब ३ अर्ब ८९ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु १ खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो। हाम्रो देशको कुल गार्हस्थ्य उत्पादनमा यसको झन्डै ३१५ प्रतिशत योगदान रहेको छ। यो महत्त्वपूर्ण योगदानको लागि विप्रेषण (रेमिट) लाई वैधानिक माध्यमबाट सजिलो र सुरक्षित तरिकाले भित्र्याउन आइएमई लिमिटेड लगायत विभिन्न रेमिट्यान्स कम्पनीहरूले खेलेको भूमिका देशको अर्थ इतिहासले सधैँभरि सम्झिरहनेछ।

तर पनि वर्तमानमा हाम्रा सबै आवश्यकताहरू पूरा गरेको र हाम्रो सामाजिक तथा आर्थिक हैसियत श्रीवृद्धिमा उल्लेख्य सहयोग गरेको रेमिट्यान्स अब बिस्तारै ‘नेपो डच डिजिज’ बन्दै गइरहेको छ। आजभन्दा ६७ वर्षअघि हामीभन्दा ३५ गुणा सानो (कुल क्षेत्रफल ४१८६० वर्ग किलोमिटरमध्ये ३३५०० जमिन र ८३५० समुद्र) भएको युरोपको एउटा मुलुकसँग हाम्रो अर्थ संयोग मिल्दै गएको छ। जर्मनीले ग्यास र तेलको क्षेत्रमा राम्रो गरेपछि सिमाना जोडिएको नेदरल्याण्ड्सले पनि आफ्नो देशमा ‘सिस्मिक सर्भे’ गर्छ।

ग्रोनिनगन प्रान्तको स्लोख्तेरन भन्ने ठाउँमा ‘एन्टीक्लाइन’ देखिन्छ। एन्टीक्लाइन एउटा चट्टानी बनोट हो जसको मुनि तेल या ग्यास अड्किएर बसेको हुने सम्भावना हुन्छ। ‘नेदरल्याण्ड्स आर्डओली मात्सचापिज’ कम्पनीले भूगर्भविद् जेएच एल्डररिन्कको नेतृत्वमा सोही क्षेत्रको एउटा कृषि फर्ममा ‘स्लोख्तेरन १’ नामको कुवा खनेर अनुसन्धान सुरु गर्छ। जमिनमुनि २८०० मिटर गहिराइमा पुगेपछि उक्त टिमले युरोपको इतिहासमै सबैभन्दा ठूलो ग्यास भण्डार फेला पार्छ। यही ग्यास नै सन् १९७७ मा पुग्दा ‘डच डिजिज’ बन्छ।

उक्त ग्यास भेटिँदाको बखत १ करोड १३ लाख जनसङ्ख्या, १३ अर्ब ४ करोड ‘जीडीपी’ र ११-१२ सय डलर प्रतिव्यक्ति आम्दानी भएको उक्त मुलुकले एकै क्षेत्रमा ठूलो लगानी गरी १९७७ मा आइपुग्दा १ करोड ३४ लाख जनसङ्ख्या, १३५ अर्ब डलर ‘जीडीपी’ र ९७०० डलर प्रतिव्यक्ति आम्दानी पुगेको थियो। उक्त अवधिभरि पूरै युरोपलाई नेदरल्याण्ड्सले आफ्नो मुद्रा ‘गिल्डर’ मा मात्रै कारोबार गर्‍यो। फलस्वरूप गिल्डरको मूल्य अस्वाभाविक महँगियो। देशले उत्पादन गर्ने अन्य कृषि, मेसिनरी तथा उत्पादनका वस्तु तथा सेवाका मूल्य मुद्राको मूल्य महँगिएसँगै स्वतः महँगा बने र बिक्री हुन छाडे वा अन्य देशले किन्न सकेनन्।

ग्यासको एकोहोरो बिक्रीबाट देश त धनी भयो तर उद्योगमा मन्दी, जनमानसमा बेरोजगारी र बजारमा महँगी देखापर्‍यो। ‘द इकोनोमिस्ट’ पत्रिकाले पैसा हुँदाहुँदै पनि गरिब बनेको नेदरल्याण्ड्सको यही समस्यालाई ‘डच डिजिज’ भन्यो। अहिले नेपालमा अभ्यास भइराखेको रेमिट्यान्स सम्बद्ध गतिविधिलाई ‘नेपो डच डिजिज’ भन्दा फरक नपर्ने देखिँदै गएको छ।

छोरी फेल भए बिहे, छोरा फेल भए विदेश – यो नेपालमा सन्तानको असफलताको सामाजिक व्यवस्थापन हो जुन हामीले पनि गरिरहेका छौँ। १९ औँ शताब्दीमा ब्रिटिस साम्राज्यमा एउटा रोचक शब्द थियो ‘रेमिट्यान्स म्यान’। त्यसबेला बेलायतका धनी, उच्च वा सम्भ्रान्त परिवारका छोराहरू बिग्रे, जुवाडे, जड्याहा या वेश्यावृत्तिमा लागे भने परिवारको ठूलो अपमान भएको वा सामाजिक प्रतिष्ठामा ह्रास आएको मान्थे। यसरी बिग्रेका आफ्ना सन्तानलाई समाजमा थाहा भएर आफ्नो प्रतिष्ठामा आँच आउनुपूर्व नै महिना-महिना वा एउटा निश्चित समयमा पैसा पठाउने सर्तमा धैरे टाढाका ब्रिटिस उपनिवेशहरूमा आफ्ना सन्तानलाई पठाउने गर्थे र सकभर फर्किन दिँदैनथे। यसरी परिवार वा घरबाट आउने त्यही पैसा (रेमिट्यान्स) मा विदेशमा ऐश-आरामको जिन्दगी बिताउने र केही काम नगर्ने व्यक्तिलाई ‘रेमिट्यान्स म्यान’ भनिन्थ्यो।

प्रकृति, पात्रता र प्रवृत्ति केही फरक परे पनि केही समयअघि देखि हाम्रो समाज पनि तिनै ‘रेमिट्यान्स म्यान’ जस्तै बन्दै गइरहेको छ। फरक के भयो भने उता परिवारले पैसा पठाउँथ्यो र व्यक्ति काम नगरी बस्थ्यो, यता व्यक्तिले पैसा पठाउँछ र परिवार काम नगरी बस्छ वा दैनिक उपभोगमै हाम्रो रेमिट्यान्स सकिन्छ। उपभोगबाट बचिहालेमा घर या जग्गामा गएर पोखिन्छ। प्रत्येक महिना विदेशी सञ्चितिमा थपिएको रेमिट्यान्स हाम्रो सफलता हुँदै होइन, यो घर डढाएर जम्मा गरेको खरानी हो।

रेमिट्यान्स कसरी डच डिजिज बन्दैछ, समानताहरू हेरौँ:–
हामी कति गरिब छौँ भने हाम्रो आजको प्रतिव्यक्ति आम्दानी र नेदरल्याण्ड्सको ६७ वर्षअघिको प्रतिव्यक्ति आय बराबर छ।

जसरी १९७७ सम्ममा आइपुग्दा त्यहाँका कृषि, मेसिनरी तथा उत्पादनका अन्य क्षेत्र अप्ठ्यारोमा परे, मन्दीबाट गुज्रे, ठ्याक्कै हामी अहिले त्यस्तै अवस्थामा छौँ। गाउँघरहरू खाली, खेतीयोग्य जग्गा जमिन बाँझो, परम्परागत सिप र रैथाने उत्पादन उच्च लागत र अनिश्चित बजारका कारण संकटमा, चलिरहेका उद्योगमा कच्चा पदार्थ तथा प्राविधिक एवं नियमित कामदारको चरम अभाव देखिँदै जानु आदि संकटापन्न अवस्थाका सङ्केत हुन्। चुनावताका एक जना साथीले भनेको कुराले मलाई निकै दिक्दार लागेको थियो।

‘हिसाब-किताब र अलिकति प्राविधिक ज्ञान भएको मान्छे खोज्दा-खोज्दै म थाकेँ, भनेजस्तो भेटिनँ तर तल सडकमा झण्डा बोकेर समृद्धिको नारा लगाउँदै २-३ सय जना मान्छे चिच्याइराख्थे।’ फेरिएको के हो भने बाबुहरूले घरतिर काम गर्ने खेताला खोज्ने र तिनै बाबुका छोराहरूले सहरमा काम खोज्ने। जसरी नेदरल्याण्ड्सको तत्कालीन सरकारले ग्यासबाहेक अरूमा ध्यान दिएन, त्यसैगरी वर्तमान हाम्रो सरकार पनि नयाँ-नयाँ गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्नबाहेक अरू विकल्प देख्दैन। रेमिट्यान्सको अनुत्पादक प्रयोगका कारण सहरी क्षेत्रमा उच्च जनआवादी, घरजग्गा मूल्यको डरलाग्दो र अप्राकृतिक वृद्धि, उपभोग बजारको अनावश्यक वृद्धि र बर्सेनि घाटा व्यापार आदि जस्ता अर्थतन्त्रका ठूला तर अप्रिय बजारबाट प्राप्त भएको राजस्व, जुन यिनै सँग सम्बन्धित प्रशासनिक कार्य गर्न मात्रै पनि अपुग छ।

देशले अवसर सिर्जना गर्न नसक्दा उत्पन्न यो डरलाग्दो अवस्थाको मनोसामाजिक पाटो झन् डरलाग्दो छ। सामाजिक विचलन, पारिवारिक विघटनतर्फ ध्यान कहिले पुग्ला? हुर्कँदा बच्चाहरूमा ‘फादर फिगर’ को आवश्यक भयको कमीले हुर्कँदो पुस्तामा आज्ञाकारिता तथा सामाजिक अनुशासन निकै फितलो देखिँदै गएको छ। सामाजिक, सांस्कृतिक मूल्य, चाडपर्व, भाषा, रिवाजमा ठूलो ह्रास र क्षयीकरण हुँदै गएको छ।

समस्या समस्या मात्रै होइन अवसर पनि हो, उसोभए अब हामी पनि ‘डच डिजिज’ बाट निस्कन उनीहरूले के-के गरे, हामीकहाँ के गर्न मिल्छ हेरौँ:

१. वासेनर एग्रिमेन्ट (१९८२): उनीहरूले बिग्रँदो अर्थतन्त्र सुधार्न गरेको यो सार्थक र अनिवार्य हस्तक्षेपकारी कदम थियो। देश भित्रका सबै श्रम सङ्गठन र रोजगारदाता बोलाएर तलब वृद्धि रोक्न आदेश गरेका थिए। हामीले हाम्रा स्थानीय तहमा रहेका रोजगार केन्द्रलाई भरपर्दो तथ्याङ्क तयार गर्न लगाऔँ र देशको मानव श्रमको आवश्यक क्षेत्रमा सम्मानजनक प्रयोग गरौँ।

२. सोभरेन वेल्थ फन्ड (सार्वभौम सम्पत्ति कोष) को स्थापना: उनीहरूले ग्यास बिक्रीबाट प्राप्त आम्दानीबाट एउटा कोष स्थापना गरी अनिवार्य जम्मा गरे र अन्य क्षेत्रमा लगानी गर्ने आधार तय गरे। हामीले पनि रेमिट्यान्सको रूपमा भित्रिइरहेको आम्दानीको निश्चित प्रतिशत अनिवार्य बचत भई बाँकी पैसा परिवारमा जाने बाध्यकारी व्यवस्था गरौँ। सङ्कलित कोष यिनै योगदानकर्ताको स्वास्थ्य, शिक्षा तथा रोजगारमूलक सिप वृद्धि गर्ने कार्यक्रम निर्माण गर्न प्रयोग गरौँ।

३. बजेटमा कडाइ र वित्त नीति: उनीहरूले बजेटमार्फत सामाजिक सुरक्षा भत्ता, लोक कल्याणकारी सुविधा र फजुल खर्चमा व्यापक कटौती गरेका थिए, हामीले अनिवार्य आवश्यकताका बाहेक अन्य आयातीत खानेकुरा तथा उपभोगका अन्य कुराहरूमा निर्मम भएर कटौती गरौँ जसले केवल उपभोग मात्रमा प्रयोग भएको रेमिट्यान्स बचतको रूपमा राष्ट्रिय पुँजी बन्ने छ।

४. नलेज इकोनोमी र अन्य क्षेत्रमा लगानी: ‘हाइड्रोपोनिक्स’ र ‘ग्लासहाउस’ कृषि प्रयोग उनीहरूले नै गरेका हुन्। ‘रोटरड्याम पोर्ट’ र ‘एएसएमएल’ सेमिकन्डक्टर चिप्स मेसिन जस्तो क्षेत्रमा ठूलो पुँजी लगानी गरेका थिए। हामीले पनि पारिवारिक वा राष्ट्रिय रेमिट्यान्सको प्रयोग परम्परागत सिप र ज्ञानको आधुनिकीकरण, बहु-कृषि, कृषि यान्त्रीकीकरण तथा सबलीकरण, जीविका मैत्री शिक्षा र सिप वृद्धि, ऊर्जा र पर्यटकीय पूर्वाधार वृद्धि जस्ता कार्यक्रमहरूमा पहिलो अधिकार रेमिट्यान्सको हुने गरी नीति तय गरौँ।

यसरी तत्काल अरू विकल्प नदेखिएको देश छोडेर पैसा आर्जन गरिरहेको देशले अब चाहिँ फरक तरिकाले सोच्नै पर्ने समय आएको पक्कै हो। यस्तो बेला राम्रो पढेका भनिएका अर्थमन्त्रीले रेमिट्यान्समा चिठ्ठा प्रणाली लागू गरेको छ भनेर मुसुमुसु हाँस्दा मेरो भने चित्त दुखेको छ।

(कुश्मा नगरपालिका–१२ ठूलीपोखरी, पर्वत स्थायी घर भएका लेखक रखाल करिब १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा कार्यरत छन्।)

प्रकाशित: २०८३ असार ३१ गते बुधबार ०७:३८
Sanket

रोशन रखाल

रोशन रखाल
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...

‘सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिने हो’

भावना र नोस्टालिजयालाई एकातिर राखेर यथार्थमा सोच्ने बेला आएको छ। डुबिसकेको पैसालाई हेरेर हामीले आफ्नो भविष्यको लगानी पनि तिनै सेतो हात्ती पाल्न खर्च गर्ने कि नयाँ प्रविधि र पूर्वाधारमा?
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना