काठमाडौं। सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान गोलाप्रथामार्फत बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।
बैंकले मङ्सिर २५ गतेदेखि मङ्सिर २९ गतेसम्म पहिलो चरणमा श्रम स्वीकृति प्राप्त भई विदेशमा रहेका नेपालीका लागि १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्कासन गरेको थियो। उक्त निष्कासनमा ६७ हजार ६५५ जनाले आवेदन दिएका थिए। तर, छानबिनपछि ६७ हजार ६३७ जनाको आवेदन मात्र योग्य ठहरिएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकाले शेयर वितरणमा गोलाप्रथा अपनाइएको हो। त्यसअनुसार १७ हजार २ सय ३८ जना आवेदकले मात्रै भाग्य खोल्न सफल भए। जसमध्ये ८ जना आवेदकले ११ कित्ता शेयर प्राप्त गरे भने बाँकी सबैले १० कित्ता शेयर प्राप्त गरेका छन्। बाँडफाँडको विस्तृत नतिजा केही समयपछि प्रकाशित गरिने क्यापिटलले जानकारी दिएको छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते बैंकलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो। स्वीकृत अनुसार बैंकले कुल १७ लाख २३ हजार ८ सय ८० कित्ता बराबर १७ करोड २३ लाख ८८ हजार रुपैयाँको शेयर निष्कासन गर्न पाउनेछ। यसअघि बैंकले गत वैशाख २३ गते आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
सालपाको केन्द्रीय कार्यालय खोटाङमा छ। बैंकको सञ्चालन क्षेत्र हाल खोटाङ जिल्लामा केन्द्रित रहेको छ।


