काठमाडौंः रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन खुला भएको छ। सोमबारदेखि सर्वसाधारणले रिलायन्सको आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको १ लाख १५ हजार ५९६ कित्ता आईपीओ बाँडफाँट भइसकेको छ।
बुक बिल्डिङ प्रक्रियाबाट जारी गरिएको यो आईपीओको अन्तिम चरणमा सर्वसाधारणले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। न्यूनतम ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँ लाग्नेछ।
आवेदन दिने अन्तिम मिति पुस ११ गतेसम्म रहेको छ। सो अवधिमा मागअनुसार आवेदन नआएमा पुस २१ गतेसम्म म्याद थपिनेछ।
कुल १९ लाख २६ हजार ६ सय कित्ता आईपीओमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ६० हजार ६४० कित्ता योग्य लगानीकर्तालाई बाँडफाँट भइसकेको छ। बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख १५ हजार ५९६ कित्ता, सामूहिक लगानी कोषका लागि ५७ हजार ७९८ कित्ता, र कर्मचारीका लागि ५७ हजार ७९८ कित्ता छुट्याइएका छन्।
अब बाँकी ९ लाख २४ हजार ७६८ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यो आईपीओ ५० कित्ताका दरले करिब १८ हजार ४ सय ९५ जनालाई पर्ने अनुमान गरिएको छ।


