काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्ने बताएका छन्। नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले उक्त कुरा बताएका हुन्।
‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन, यसको फाइदा देशले नै लिन सक्छ। चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ,’ मन्त्री डा महतले भने।
यसपालि सुरुङमार्गका लागि एक अर्ब बजेट सुनिश्चित गरिएको उनको भनाइ छ। ‘यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ,’ डा. महतले भने, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउछौँ। यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो।’
सुरुङमार्गले कृषि, उद्योग व्यवसाय, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ। टोलटोलमा पुगेर बाटो केन्द्रले बनाउनुको सट्टा स्थानीय तह र प्रदेशले आफ्नो बजेटबाट प्रबन्ध गर्नुपर्ने उनको भनाइ थियो।


