काठमाडौँः रिज लाइन इनर्जी लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।
जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बिक्री वितरण गरिनेछ।
त्यस्तै, सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ४२ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
यो आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आईपीओ निष्कासन छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते बन्द हुनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, कम्पनीले निर्माण गरेको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा (गोरखा) तथा पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर जारी गरिसकेपछि, दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।


