काठमाडौं। ठेक्का लिएर काम नगर्ने पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले उनको कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो।
ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइले सिफारिसका आधारमा कान्छारामसहित पाँच कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ।
खरिद अनुगमन कार्यालयले छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पाेरेसन चीनको कम्पनी पनि डेढ वर्षका लागि कालोसूचीमा राखेको छ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालि धनुषा पनि डेढ वर्षका लागि कालोसूचीमा राखेको कार्यलयले जनाएको छ।
यसैगरी रौतामाई गाउँपालिका उदयपुरको सिफारिसमा सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि धनुषा र विशाल निर्माण सेवा सिन्धुपाल्चोक एक–एक वर्षका लागि कालोसूचीमा परेका छन्।
सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति रमेश कुमार सिङ्दान हुन् भने विशाल निर्माण सेवाका मुख्य व्यक्ति श्यामकुमार गलान हुन् ।



