काठमाडौँ: लामो समयदेखि समस्याग्रस्त सूचीमा रहेको क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स लिमिटेड अब उक्त अवस्थाबाट बाहिरिने निर्णायक चरणमा पुगेको छ। प्रभावकारी ऋण असुली, व्यवस्थापकीय सुधार र वित्तीय सूचक सुदृढ बन्दै गएकाले नेपाल राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्त सूचीबाट हटाउने तयारी अघि बढाएको छ।
पुस मसान्तको वित्तीय विवरण अध्ययन र अन्तिम निरीक्षणपछि अनुकूल अवस्था देखिएमा समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय लिइने राष्ट्र बैंकका एक अधिकारीले बताए। क्यापिटल मर्चेन्टले पछिल्लो केही वर्षमा धितोमा रहेको जग्गा तथा सम्पत्ति बिक्री गरी एक अर्ब पाँच करोड रुपैयाँ कर्जा असुल गरिसकेको छ। एक समय कुल ऋण करिब एक अर्ब ६० करोड रुपैयाँ पुगेको यस संस्थामा अब करिब ५५ करोड रुपैयाँ मात्र उठाउन बाँकी रहेको छ।
यसले संस्थाको पुँजी स्थिति उल्लेख्य रूपमा सुधार भएको देखाउँछ। ऋण असुलीमा आएको यस प्रगतिलाई राष्ट्र बैंकले सकारात्मक संकेतका रूपमा लिएको छ।
संस्थाले गत वर्ष १३ आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्नु पनि अर्को महत्वपूर्ण उपलब्धि हो। आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्मको साधारणसभा एकैपटक गरिएको हो।
राष्ट्र बैंकले २०६९ मा क्यापिटल मर्चेन्टलाई समस्याग्रस्त घोषणा गर्दै सामान्य बैंकिङ कारोबारमा रोक लगाएपछि लामो समयसम्म साधारणसभा हुन सकेको थिएन। पछिल्ला वर्षहरूमा वित्तीय सुधार गर्दै बाँकी लेखा परीक्षण पूरा गरेपछि राष्ट्र बैंकको स्वीकृतिमा साधारणसभा आयोजना गरिएको हो।
ती अधिकारीका अनुसार अब पुस मसान्तसम्मको वित्तीय विवरण प्राप्त भएपछि अन्तिम निरीक्षण गरिनेछ। यदि वित्तीय सूचक, सुशासन र व्यवस्थापकीय क्षमता सन्तोषजनक देखिएमा राष्ट्र बैंकको सञ्चालक समितिले क्यापिटल मर्चेन्टलाई औपचारिक रूपमा समस्याग्रस्त सूचीबाट हटाउने योजना बनाएको छ। फुकुवा भएपछि संस्थालाई दिगो रूपमा सञ्चालन गर्न सक्ने सक्षम सञ्चालक समिति र व्यवस्थापन टोलीलाई अझ सुदृढ बनाउने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए।
हाल फाइनान्सको अध्यक्षमा तिलकबहादुर रानाभाट रहेका छन्। त्यस्तै, सञ्चालक समितिमा जगतराज खनाल, रञ्जन रायमाझी, निर्मल दाहाल र राजेश्वर श्रेष्ठ छन्। प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी प्रदीप भट्टराईले सम्हालिरहेका छन् भने जेडी अपरेटिङ अफिसरमा कृष्णप्रसाद तिमल्सिना र कम्पनी सेक्रेटरीमा सुनी प्रधान जोशी रहेका छन्। रानाभाट फाइनान्समा प्रवेश गरेपछि व्यवस्थापन, ऋण असूली र समग्र वित्तीय अनुशासनमा उल्लेख्य सुधार आएको बताइन्छ। उनी यो संस्थामा लामो समयदेखि कार्यरत छन्।
राष्ट्र बैंकले २०६९ माघ ९ गते क्यापिटल मर्चेन्ट एण्ड फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो। तत्कालीन प्रमुख कार्यकारी अधिकृत पवन कार्की लगायतको समूहको कमजोर व्यवस्थापन, अस्वस्थ कर्जा प्रवाह र संस्थागत अनुशासनहीनताका कारण संस्था धरासायी बन्दै गएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो। त्यसपछि ऋण असुली गरेर निक्षेपकर्ताको रकम फिर्ता गर्न निर्देशन दिइएको थियो।
२०७५ मा गैरआवासीय नेपाली चिरञ्जीवी थापासहित व्यवसायी प्रवलजंग पाण्डे समूहले संस्थाको शेयर खरिद गरेपछि नयाँ लगानीकर्ताको प्रवेश भएको थियो। उनीहरूले पुराना संस्थापक शेयरधनीसँग सहमति गरी प्रतिकित्ता २२ रुपैयाँका दरले ६ लाख एक हजार ४१७ कित्ता शेयर खरिद गरेका थिए। नयाँ लगानीकर्ताको आगमनपछि केही समय संस्थाको अध्यक्षमा थापा चयन भए पनि संस्था तत्काल चल्न सक्ने अवस्थामा नदेखिएपछि उनले पदबाट राजीनामा दिएका थिए।
पछि २०७७ भदौ २८ गते निरञ्जनसिंह बस्नेतको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको थियो। जसमा जगत खनाल, आनन्दराज रेग्मी, रञ्जन रायमाझी र कैलाश भट्ट सदस्य थिए। नयाँ लगानीकर्ताको प्रवेशपछि निक्षेपकर्ताको रकम डुब्ने हल्ला चलेको र केही धितो आपसी मिलेमतोमा लिलामी बढाइएको आरोपसमेत लागेको थियो। तर, राष्ट्र बैंकको आपत्तिपछि उक्त लिलामी प्रक्रिया रोकिएको थियो।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्नुअघि क्यापिटल मर्चेन्ट एण्ड फाइनान्सको निक्षेप दुई अर्ब ७९ करोड ८३ लाख रुपैयाँ र ऋण तीन अर्ब ६८ करोड ८९ लाख रुपैयाँ पुगेको थियो। अहिले भने ऋण असूली र संरचनागत सुधारका कारण संस्था पुनरुत्थानको बाटोमा देखिएको छ। सबै प्रक्रिया सफल भए क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स नेपाली वित्तीय क्षेत्रमा समस्याबाट उकासिएको उदाहरणीय संस्थाका रूपमा पुनः स्थापित हुने अपेक्षा गरिएको छ।


