काठमाडौँः नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र (बन्ड) जारी गरेको छ। केन्द्रीय बैंकले एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ग’ जारी गरेको हो।
पुस २० गते आजबाट जारी गरिएको यस ऋणपत्रमा मध्यान्न २ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले सूचनामार्फत जानकारी दिएको छ। तथापि, यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
तथापि, ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउण्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर कोरिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने पनि बैंकले सूचनामा भनेको छ।


