काठमाडौं। विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कारण अहिले बैंक तथा वित्तीय क्षेत्र त्रसित बनेको छ। ऋण उठाउन जाँदा पटक पटक बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण हुँदै आएका छन्।
प्रसाईंले नागरिक बचाउ अभियान सञ्चालन गरेर ऋणीलाई बैंकबाट लिएको ऋण नतिर्न भन्दै अराजक अभिव्यक्ति दिँदै आएका छन्। हालसालै गाउँगाउँबाट बैंक तथा वित्तीय संस्थालाई लखेट्ने अराजक अभिव्यक्ति प्रसाईंले दिएका छन्। यस विषयमा सरकार र नेपाल राष्ट्र बैंक मुकदर्शक भएका छन्।
उनी आफैले बी एन्ड सी मेडिकल कलेज सञ्चालनका लागि बैंकबाट छ अर्ब रुपैयाँ बढी ऋण लिएका छन्। उनले बैंकबाट लिएको ऋण नतिर्नका लागि ऋणीहरुलाई उचालिरहेका छन्। यसको मारमा बैंक तथा वित्तीय संस्थामा परेको छ। यसको ठूलो असर गाउँगाउँमा गएर वित्तीय सेवा दिइरहेका लघुवित्त संस्थामा परेको छ।
यसको मारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि परेको छ। देशव्यापी रुपमा विगत चार वर्षदेखि निरन्तर लघुवित्त विरोधी गतिविधिका कारण ऋण नतिर्ने प्रवृत्ति बढ्दै गएको युनिक नेपाल लघुवित्तले जानकारी दिएको छ।
यस्ता गतिविधिले ग्राहक सदस्यहरुमा सामुहिक जमानी दायित्वमा कमी आएको, देशमा अझै पनि व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरुको व्यवसाय राम्ररी नचली आम्दानी संकुचन भएको कारण कर्जा असुलीमा गम्भिर समस्या परेको संस्थाले जनाएको छ।
“युवा विदेश पलायन र व्यावसायिक मन्दीका कारण कर्जा लगानी बढ्न सकेको अवस्था छैन्। यी दुवै कारणहरुले संस्थाको निष्क्रिय कर्जा वृद्धि भई आम्दानीको अधिकांश भाग अत्यधिक कर्जा नोक्सानी व्यवस्था गर्नु परेको छ” युनिकले जारी गरेको सूचनामा भनेको छ। यस्ता गतिविधिले गर्दा प्रत्यक्ष रुपमा संस्थाको नाफा घट्न गएको र नगद प्रवाहमा समेत नकारात्मक असर परेको जानकारी लघुवित्तले दिएको छ।
यो वर्ष सेयरधनीलाई नगद लाभांश वा बोनस सेयर वितरण नगर्ने जानकारी यनिकले दिएको छ। सेयरधनीलाई लाभांश दिने उत्कट चाहना हुँदा हुँदै पनि वर्तमान अवस्थाको गाम्भिर्यतालाई ध्यानमा राखी वित्तीय संस्थालाई अहिलेको संक्रमणकालमा जोगाई राख्न सक्नु नै उत्तम विकल्प भएको ठहर युनिकले गरेको छ।
यस्तै नेपाल राष्ट्र बैंकको सुझावलाई आत्मसाथ गरी गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणको आधार र अन्त्यमा कायम रहेको वितरणयोग्य नाफा सञ्चितबाट नगद तथा सेयर लाभांश वितरण गर्न नसकिने निर्णय सर्वसम्मतिले गरेको युनिक नेपालले जानकारी दिएको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग जोडेर नकरात्मक प्रचारबाजीहरु भइरहेका छन्। पछिल्ला दिनहरूमा बैंक कर्मचारीमाथि कुटपिट, धम्की, तोडफोडदेखि ऋणीहरू आत्महत्याको प्रयाससम्म पुग्ने घटनाहरू बढ्दै गएका छन्।
बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्दै आएका छन्। बैंक तथा वित्तीय संस्थाले ऋण उठाउन सकेनन् भने त्यसको असर निक्षेप फिर्तामा पर्नेछ।
