काठमाडौँ: नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनका लागि कर्णाली प्रदेश उपाध्यक्षका लागि उम्मेदवारी दिए पनि मनोनयन स्वीकृत नभएका डा सरोजकुमार गिरीको पक्षमा उच्च अदालत पाटनले आदेश गरेको छ। न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले गिरीको पक्षमा अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी अस्वीकृत हुनुको कारण माग गरेको छ।
एनएमए निर्वाचनका लागि डा. बद्री रिजाल र डा. मंगल रावल समूहबिच प्रतिस्पर्धा हुँदैछ। रिजालको टिमबाट गिरीले उपाध्यक्ष पदमा उम्मेदवारी दिए पनि अध्यक्षका उम्मेदवार डा. रावलको समूहको दबाबमा गिरीको उम्मेदवारी अस्वीकृत भएको थियो। डा. रावल र उनको प्यानलका महासचिव उम्मेदवार डा. कालु सिंह खत्रीले उम्मेदरवारको मनोनयन पत्र दाखिला गर्ने दिन पुस २ गते निर्वाचन समितिको कार्यालय घेरेर डा. गिरीको मनोनयन पत्र दर्ता नगर्न चरम दबाब दिएका थिए।
एकातर्फ विदेशमा रहेका उम्मेदवारको अवैध मनोनयनलाई संरक्षण गर्ने तर अर्कोतर्फ आफ्नै सहकर्मीलाई रोक्नेगरी ‘दोहोरो मापदण्ड’ अपनाएर उम्मेदवारी अस्वीकृत भएपछि डा गिरीले गत पुस २४ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
उक्त निवेदनमा अदालतले डा गिरीको पक्षमा आदेश गरेको हो। उनले एनएमए निर्वाचन समिति र एनएमएलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेका थिए।


