विराटनगर– कोसी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन ३१ जेठ बुधबार दिउँसो १ बजे बस्ने भएको छ। २३ जेठमा प्रदेशसभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।
कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए।
गत २४ जेठमा कोसी प्रदेशसभा सरकारबाट माओवादी केन्द्रले बाहिरिने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीले राजीनामा पनि बुझाएका छन्।
एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फर्ता लिने निर्णयसँगै प्रदेश सरकारले एकाएक प्रदेशसभा बैठक अर्को सूचना जारी नहुन्जेल स्थगित गरेको थियो।



