काठमाडौँः सोलु हाइड्रोपावर लिमिटेडले आज पुस २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई कुल ८२ लाख कित्ता शेयर निष्कासन गरेको हो।
यस आईपीओमा लगानीकर्ताले माघ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कार्तिक २४ गते आईपीओ निष्कासनको अनुमति दिएको थियो। बोर्डबाट कम्पनीले कुल २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसका लागि कम्पनीले २०८० असोज २३ गते बोर्डमा आवेदन दिएको थियो।
कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ।
सोलु हाइड्रोपावर लिमिटेडले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको लोअर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ साउन २४ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।
