काठमाडौं। चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूले साढे २८ अर्ब रुपैयाँ बढी नाफा गरेका छन्। नेपाल राष्ट्र बैंकको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले कूल २८ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यस अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले मात्रै २५ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन्। वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक ३ अर्ब २२ करोड रुपैयाँसहित अग्रस्थानमा रहेको छ। यस्तै नबिल बैंक ३ अर्ब ११ करोड रुपैयाँसहित दोस्रो स्थानमा छ।
समीक्षा अवधिमा विकास बैंकहरूले कूल दुई अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन्। गरिमा विकास बैंकले ५३ करोड ७३ लाख रुपैयाँसहित अग्रता लिँदा मुक्तिनाथ विकास बैंकले ५२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ।
फाइनान्स कम्पनीहरूले भने यस अवधिमा २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। आइसीएफसी फाइनान्स, गुडविल फाइनान्स र मञ्जुश्री फाइनान्स शीर्ष नाफा कमाउने संस्था भएका छन्। समग्र नाफा वृद्धिले वित्तीय क्षेत्र क्रमशः स्थिरता र मजबुत दिशातर्फ उन्मुख भइरहेको देखिन्छ।


