काठमाडौँः अधिक तरलताको अवस्थाले वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्ने क्रम जारी छ। माघ महिनामा पनि वाणिज्य बैंकहरूले निक्षेप ब्याजदर घटाएका छन्।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ बैंकले पुस महिनाकै दर कायम राखेका छन्। प्राइम कमर्सियल बैंकले भने मुद्दती निक्षेपको अधिकतम ब्याजदर केही बढाएको छ।
पुसको तुलनामा माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.१४ प्रतिशत विन्दुले घटेर ४.८ प्रतिशतमा सीमित भएको छ। हिमालयन, सिद्धार्थ, सानिमा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, सिटिजन्स इन्टरनेश्नल, कुमारी, एभरेष्ट, कृषि विकास, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका छन्।
त्यस्तै, माघ महिनाका लागि ४ बैंकले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी बैंकहरूले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।
नयाँ ब्याजदर माघ १ गतेदेखि लागू हुनेछ।


