काठमाडौँः भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेपछि कम्पनीले अब सर्वसाधारणका लागि सेयर ल्याउन लागेको हो।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीय र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।
कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित गरेको छ। अब बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन माघ १५ गतेसम्म दिन सकिनेछ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित: २०८२ माघ २ गते शुक्रबार १२:०७