काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरूले अब ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम दैवीप्रकोप वा आकस्मिक दुर्घटनाबाट प्रभावित ग्राहक तथा उनका परिवारको सहयोगका लागि प्रयोग गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै कोषको प्रयोगसम्बन्धी दायरा विस्तार गरेको हो।
नयाँ व्यवस्थाअनुसार लघुवित्तले उक्त कोषबाट प्राकृतिक विपत्ति वा दुर्घटनामा परेका ग्राहकका परिवारलाई राहत दिनुका साथै ग्राहकहरूको शिक्षा तथा क्षमता विकास, ग्राहकका सन्तानको विद्यालय तहको शिक्षा, स्वास्थ्य र पोषणसम्बन्धी कार्यक्रमहरूमा मात्र खर्च गर्न सक्नेछन्।
यसअघि ग्राहक संरक्षण कोषको रकम मुख्यतः ग्राहक सदस्यहरूको सामूहिक हितका गतिविधि, समस्यामा परेका ऋणीको व्यवसाय संरक्षण तथा पुनर्स्थापना, र शिक्षा तथा क्षमता विकासका कार्यक्रमहरूमा सीमित गरिएको थियो। पछिल्लो संशोधनले विपद् र दुर्घटनाबाट प्रभावित परिवारलाई प्रत्यक्ष सहयोग गर्न कानुनी आधार दिएको हो।
यसै सर्कुलरमार्फत राष्ट्र बैंकले सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाका लागि तरलता व्यवस्थापनसम्बन्धी व्यवस्था पनि स्पष्ट गरेको छ। लघुवित्त संस्थाले अघिल्लो महिनाको कुल बचत दायित्वको कम्तीमा २.५ प्रतिशत बराबरको तरल सम्पत्ति कायम गर्नुपर्नेछ।
तरल सम्पत्तिको गणनामा बैंक तथा वित्तीय संस्थामा राखिएको बचत तथा मुद्दती निक्षेपको ९० प्रतिशतसम्म रकमलाई समावेश गर्न पाइने व्यवस्था गरिएको छ। यसअघि भने वाणिज्य बैंकमा राखिएको निक्षेपलाई मात्र तरल सम्पत्तिका रूपमा देखाउन सकिने प्रावधान थियो।
त्यसैगरी, लघुवित्त वित्तीय संस्थाले असल वर्गमा वर्गीकरण भएका कर्जाको उठ्न बाँकी ब्याज आम्दानी वित्तीय विवरणमा समावेश गर्दा आफ्ना लेखा नीतिमा त्यसको स्पष्ट खुलासा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। आम्दानी तथा खर्च नगद प्राप्ति वा भुक्तानीको आधारमा होइन, वास्तवमै आम्दानी आर्जन वा खर्च उत्पन्न भएको समयमा लेखांकन गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ।


