काठमाडौँः कामना सेवा विकास बैंक चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ। बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा २२.३४ प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोड रुपैयाँबाट बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद शुल्क तथा कमिशन आम्दानी १४ करोड ५३ लाख रुपैयाँबाट बढेर १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यी सूचकको वृद्धिसँगै बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब २९ करोड रुपैयाँबाट बढेर १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्म बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत १८ करोड ७१ लाख रुपैयाँ व्यवस्था गरेको छ।
बैंकको मूल्य–आम्दानी अनुपात २२.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ०७ पैसा पुगेको छ। सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४३ पैसा कायम भएको छ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ। यस अवधिमा वितरणयोग्य प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा पुगेको बैंकले जनाएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकले ६३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


