काठमाडौं। चालू आर्थिक वर्ष सुरु भएयता अमेरिकी डलरसँग नेपाली रुपैयाँ (नेरु) निरन्तर कमजोर भइरहेको छ। गत असार मसान्तमा एक डलरबराबर १३७ रुपैयाँ रहेको थियो।
तर माघ पाँच गतेसम्म आइपुग्दा बढेर एक डलरबराबर १४५.६९ रुपैयाँ पुगेको छ। सात महिनाको अवधिमा नेपाली रुपैयाँ ८.६९ रुपैयाँ कमजोर भएको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाएको छ।
पाँच महिनाको अवधिमा डलरसँग नेरु ५.१ प्रतिशत कमजोर भएको थियो। अहिले बढेर यो भन्दा माथि पुगेको छ।
डलर मात्र हैन अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ पनि उकालो लागेको छ। यस्तै कच्चा तेलको भाउमा धेरै तलमाथि भएको छैन्।
भारतीय रुपैयाँ (भारु) डलरसँग निरन्तर कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। हाल एक डलरबराबर ९०.७४ भारु छ।
नेरुको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले डलरसँग नेरु कमजोर हुन गएको हो। डलरसँग नेरु कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ।
भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ।
अमेरिकाले भारतीय वस्तुमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाएपछि भारतीय अर्थतन्त्र कमजोर बनेको छ। अमेरिकातर्फको निर्यात घटेपछि भारतमा उत्पादनमूलक उद्योग समस्यामा परेका छन् भने ठूलो संख्यामा रोजगारी कटौती भएको छ।
भारतले जीएसटी दर घटाएर अमेरिकाको भन्सारदरबाट उत्पन्न असर कम गर्ने नीति लिएको छ। यसले भारुलाई झनै कमजोर बनाएको छ।
अमेरिकाको भन्सारदरको असर, बेलायत, जर्मनी, जापान, चीन र अष्ट्रेलियालगायत अतिविकशित मुलुकहरुमा परेको छ। डलरसँग भारुका साथै युरो र युआनलगायत विश्वका प्रमुख मुद्राहरु कमजोर बनेका छन्।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ। सुनको भाउले पनि दिनहु नयाँ रेकर्ड कायम गरेको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। चालू आर्थिक वर्षको को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशत वृद्धि भई आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशत बढेको थियो। यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउने छन्।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन्। तर पनि नेपाली निर्यातकर्ताले यसबाट खासै लाभ लिन पाएका छैनन्।
डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलर महँगो भएपछि आयात गरिने वस्तु महँगो हुन जान्छ र बजार भाउ बढ्छ। यस्तै, विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ। नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ।
यता नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने र नेपालीको आम्दानी बढेको भन्दै विकास साझेदार विश्व बैंकले ब्याज दोब्बर बढाएको छ। झण्डै ८० अर्ब रुपैयाँ बढी दायित्व बढेको छ। यसले गर्दा आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ।
विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ। गत वर्ष ३३ अर्ब रुपैयाँ बढी लाभांशको रुपमा विदेसिएको छ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने गरेको छ।


