काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४० करोड ९९ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशतले घटेको हो।
बैंकको नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा आएको गिरावट हो। गत वर्ष १ अर्ब ४ करोड ४५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर चालू वर्षको दोस्रो त्रैमाससम्म ७४ करोड ७ लाख २० हजार रुपैयाँमा सीमित भएको छ।
यससँगै बैंकको कुल आम्दानी पनि १ अर्ब ५ करोड ९१ लाख रुपैयाँबाट घटेर ७५ करोड ५९ लाख ११ हजार रुपैयाँमा झरेको छ।
यस्तै, बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि २ करोड ९४ लाख १ हजार रुपैयाँ व्यवस्था गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले कर्जा नोक्सानी व्यवस्थाबाट २ करोड २८ लाख ८९ हजार रुपैयाँ फिर्ता गरेको थियो। सञ्चालन नाफा पनि ९१ करोड ७१ लाख ८९ हजार रुपैयाँबाट घटेर ५८ करोड ६५ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९४ पैसाबाट घटेर ३ रुपैयाँ ८० पैसामा झरेको छ। २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष घटेर ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँमा कायम भएको छ।
गत असार मसान्तमा ७ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ रहेको निक्षेप पुस मसान्तसम्म बढेर ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कर्जा लगानी पनि २३ अर्ब २६ करोड २६ लाख रुपैयाँबाट बढेर २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ पुगेको छ।
हाल बैंकको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पि रेसियो) ६८.४६ गुणा पुगेको छ।


