काठमाडौँः माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार देखाएको छ। यस अवधिमा बैंकको खुद नाफा २५.२४ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकले ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खराब कर्जा (एनपीएल) घट्नु बैंकको नाफा बढ्नुको प्रमुख कारण मानिएको छ। गत वर्ष पुस मसान्तमा ४.५४ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.२५ प्रतिशतमा झरेको छ।
दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख १६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो आम्दानी २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ रहेको थियो।
यस अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी २२.१२ प्रतिशतले बढ्दै ८२ करोड ७ लाख ९९ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ८.८३ प्रतिशतले वृद्धि भई ४ अर्ब २ करोड ६९ लाख ८१ हजार रुपैयाँ पुगे पनि सञ्चालन नाफा भने १०.२२ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख ८० हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ६२ लाख ९० हजार रुपैयाँ मात्र थियो। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ प्रतिशतले बढेर १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६ अर्ब ९८ करोड १८ लाख २५ हजार रुपैयाँ सञ्चित छ।
हाल बैंकको आधार दर (बेस रेट) ५.४८ प्रतिशत रहेको छ भने कर्जा–निक्षेप अनुपात ७७.९९ प्रतिशत कायम रहेको छ।


