काठमाडौँः सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.९४ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा बैंकको खुद नाफा १९ करोड ६५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९१ करोड ८२ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। साथै, खुद शुल्क तथा कमिशन आम्दानी ११.२९ प्रतिशतले वृद्धि भई १२ करोड ५३ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको सञ्चालन मुनाफा ४५ करोड १३ लाख रुपैयाँ र खुद सञ्चालन आम्दानी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ।
बैंकले ग्राहकबाट ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यद्यपि, वितरणयोग्य मुनाफा भने घटेको छ। अघिल्लो वर्ष २५ करोड २५ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा चालु वर्षमा घटेर ९ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ। साथै, प्रतिसेयर आम्दानी १६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.२४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १,६९७.९९ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २४.७८ गुणा र तरलता अनुपात २५.५० प्रतिशत कायम रहेको छ।
