काठमाडौं। लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको दानाखोला जलविद्युत आयोजनाको क्षमता ३३ मेगावाट बढेको छ।
आयोजनाको क्षमता बढेर ८३.२५ मेगावाट पुगेको छ। यसअघि आयोजनाको जडित क्षमता ४९.९५ मेगावाट थियो। बढेको क्षमताको डिजाइनको काम अन्तिम चरणमा पुगेको लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले बताए।
उनका अनुसार आयोजनाको लागत पनि बढेर ११ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। यसअघि आयोजना बनाउन नौ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो।
क्षमता बढेपछि आयोजनाको लागत एक अर्ब ३० करोड रुपैयाँ बढेको उनले जानकारी दिए। आयोजनाको क्यू ४३ मा डिजाइन गरेकोमा अब क्यू ३५ मा बनाइने भएको छ।
थपिएको ३३ मेगावाट बिजुली भारतमा निर्यात गर्ने अध्यक्ष डाँगीले जानकारी दिए। भारतको मनिकरण पावर लिमिटेडसँग बिजुली खरिद सम्झौता (पीपीए) का लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको उनले सुनाए।
सरकारले विद्युत व्यापारको इजाजतपत्र (लाइसेन्स) दिनसाथ २५ वर्षका लागि मनिकरणसँग पीपीए गर्ने योजना डाँगीको छ। ४९ मेगावाट पीपीए नेपाल विद्युत प्राधिकरणसँग भइसकेको छ।
संरचना एउटै हुने भएकाले मेशिनको मात्र लागत मात्र थपिने भएको छ। सिभिल संरचनामा लगानी थप्नु नपर्ने उनले जानकारी दिए।
आयोजनाको क्षमता बढेपछि प्रतिमेगावाट लागत १४ करोड रुपैयाँ हुनेछ। हाल आयोजना निर्माणको काम जारी छ। २५ प्रतिशत भन्दा बढी काम सकिएको छ।
दानाखोलामा २०८१ पुस २० मा सानिमा बैंकको अगुवाइमा ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको थियो। जसमा नेतृत्वकर्ता बैंक सानिमाले १ अर्ब ९७ करोड, नबिल बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब रुपैयाँ दाना खोला आयोजनामा ऋण लगानी गर्ने भएका छन्।
ऋण लगानी गर्ने अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआइ बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १ १ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। बैंकहरुले लगानी थप्ने भएका छन्।
यस्तै आयोजनाको सिभिल निर्माण ठेक्का साई पावर इन्फ्रा जेभीले ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँमा पाएको छ।
आयोजना बनाउन कूल ९ अर्ब ९६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। जसमध्ये बैंकहरुले ७ अर्ब ४७ करोड रुपैयाँ ऋण र २ अर्ब ४९ करोड रुपैयाँ संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएकोमा यसमा परिवर्तन हुने भएको छ। २५ प्रतिशत संस्थापकको स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी हुनेछ।
इक्विटीमध्ये ३० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गरेर जुटाउने तयारी कम्पनीको छ। १० प्रतिशत (२४ करोड ९० लाख) आयोजना प्रभावित स्थानीयबासिन्दालाई र २० प्रतिशत (४९ करोड ८० लाख रुपैयाँ) सर्वसाधारणलाई आईपीओ जारी गर्ने लक्ष्य थियो।
आयोजनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावरमा लगानी गर्ने भएको छ। तेह्रथुमले लालुपातेको एक लाख कित्ता सेयर किन्ने भएको हो। तेह्रथुमले लालुपातेमा अंकित मूल्यमा उक्त सेयर किन्न भएको छ।
तेह्रथुम पावरले साढे सात मेगावाटको खोरङाखोला आयोजना सञ्चालन गरिरहेको छ।
आयोजनाको निमार्ण कार्य सन्तोषजनक रुपमा अगाडी बढेको तथा बजेटको हिसावले समेत तुलनात्मक रुपमा राम्रो रहेको आधारहरुलाई विश्लेषण गरी दाना खोलामा लगानी गरेको तेह्रथुम पावरले जनाएको छ।
प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा पीपीए भएको छ। प्राधिकरणले आयोजनाका लागि विद्युत उत्पादनको समय २०८४ कात्तिक २ गते तोकेको छ । आयोजना मनाङको नासो गाउँपालिकामा पहिचान भएको हो।
आयोजनाबाट वार्षिक ३० करोड २२ लाख ७० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ। क्षमता बढेकाले ऊर्जा उत्पादन थपिने भएको छ। आयोजना प्रभावित ४२ घरलाई आयोजनाले नै बैंकबाट ऋण लएर सेयरमा लगानी गराउने भएको छ।
विद्युत उत्पादनका लागि दाना खोलाको पानी फर्काइ बनाइने बाँधको कूल लम्बाई १६.११ मिटर र उचाई ५ मिटर हुनेछ। अध्ययनअनुसार मुख्य सुरुङ ३ किलोमिटर लामो हुने तथा विद्युतगृह भूमिगत रहने प्रस्ताव गरिएको छ।
आयोजनाबाट उत्पादित विद्युत २२० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ।


