काठमाडौँः सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड सोमबार (आज) सम्पन्न भएको छ। कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो।
आईपीओ बाँडफाँडअनुसार कुल ८ लाख २० हजार आवेदकले प्रतिआवेदक १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँड प्रक्रियामा लक्की नम्बर २ परेको छ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सर्वसाधारणका लागि ८२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। आईपीओको अन्तिम दिनसम्म कुल २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए। यसअनुसार आवेदन रकम कुल ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ पुगेको थियो, जुन निष्काशन गरिएको शेयरको तुलनामा ३.८६ गुणा बढी माग रहेको देखिन्छ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बाँडफाँड प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ।


