काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यस निक्षेप संकलन उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज १८ चैतमा भुक्तानी गरिनेछ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले पछिल्लो समय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।


