काठमाडौं । कालिका कालिगण्डकी जलविद्युत आयोजनाको जडित क्षमता बढेर ४७.७ मेगावाट पुगेको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।
आयोजनाको जडित क्षमता बढेपछि विकासकर्ता मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको पुरक वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको छ। यही माघ २३ मा आयोजनाले सार्वजनिक सुनुवाई कार्यक्रम राखेको छ।
यसअघि आयोजनाबाट २२ करोड ३६ लाख युनिट बिजुली उत्पादन हुने अनुमान गरिएकोमा बढेको छ। यस्तै आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो। लागत पनि बढ्ने भएको छ। कम्पनीले लागत खुलाएको छैन्।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ। अब थप नौ मेगावाटको पीपीए हुन बाँकी छ।
विद्युत विकास विभागले मौलाकालिकालाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ।
आयोजना तनहुँको देवघाट गाउँपालिका र नवलपुरको गौंडाकोट नगरपालिकामा रहेको कालिगण्डकीको पानीलाई उपयोग गरी आंशिक जलासयमा आधारित आयोजना हो।
आयोजनाको संरचना देवघाट गाउँपालिकाको १, ४ र ५ नम्बर र नवलपुरको ३ मा र विद्युतगृह कालिगण्डकी नदीको बाँया किनारमा रहनेछ।
नदीको पानी फर्काउन नदीमा १०६ मिटर लम्बाइ भएको र १७ मिटर उचाइ भएको व्यारेज निर्माणको प्रस्ताव गरिएको छ।
आयोजनाले दैनिक २ करोड ४१ लाख ६३ हजार ७ सय ८६ घनमिटर पानी भण्डारण गरी ४ घण्टा अधिकतम् बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ। आयोजनाबाट सुक्खायाममा पनि दैनिक चार घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली १० कलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको न्यू भरतपुर सबस्टेशनमा जोडिनेछ।


