काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार बैंकले उक्त अवधिमा १३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६५ प्रतिशतले कम हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद नाफा घटे पनि बैंकको शुल्क तथा कमिशन आम्दानी भने बढेको छ। समीक्षा अवधिमा बैंकले ७० करोड २१ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६३ करोड २१ लाख रुपैयाँ रहेको थियो।
तर, बैंकको खुद ब्याज आम्दानीमा भने उल्लेखनीय गिरावट आएको छ। अघिल्लो वर्ष ५ अर्ब १८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म घटेर ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ।
यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। साथै, बैंकको खराब कर्जा अनुपात ७.४७ प्रतिशत पुगेको छ।
निक्षेप संकलनतर्फ बैंकले सामान्य सुधार देखाएको छ। अघिल्लो आर्थिक वर्षमा ३ खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। तर, कर्जा प्रवाह भने घटेको छ। अघिल्लो वर्ष २ खर्ब २४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी घटेर २ खर्ब ९ अर्ब रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८८.४४ गुणा र तरलता अनुपात ४२.६४ प्रतिशत कायम भएको छ ।


