काठमाडौं। चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफामा मिश्रित अवस्था देखिएको छ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार केही बैंकले उच्च नाफा कमाएका छन् भने केही बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेको छ।
सार्वजनिक विवरणअनुसार एभरेष्ट बैंकले सबैभन्दा बढी वितरणयोग्य नाफा आर्जन गरेको छ। बैंकको पुस मसान्तसम्मको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। त्यसैगरी, नबिल बैंकले ३ अर्ब २७ करोड २८ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले २ अर्ब १० करोड रुपैयाँ र सानिमा बैंकले १ अर्ब ६१ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएका छन्।
यसै अवधिमा सिद्धार्थ बैंकको वितरणयोग्य नाफा २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने नेपाल एसबीआई बैंकको १ अर्ब २० करोड रुपैयाँ छ। यस्तै स्टान्डर्ड चार्टर्ड बैंकको ९१ करोड २५ लाख रुपैयाँ छ।
प्रभु बैंकले ७९ करोड ९ लाख रुपैयाँ, कृषि विकास बैंकले ७१ करोड ९८ लाख रुपैयाँ, एनएमबी बैंकले ५६ करोड ४३ लाख रुपैयाँ तथा माछापुच्छ्रे बैंकले ४३ करोड ६३ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका छन्। प्राइम कमर्सियल बैंकको वितरणयोग्य नाफा ३७ करोड रुपैयाँ छ।
यता, केही बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ। हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ।
त्यस्तै, एनआईसी एशिया बैंकको ७ अर्ब ३९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ६२ करोड रुपैयाँ, कुमारी बैंकको २ अर्ब ९८ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ८४ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकको १ अर्ब १० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको २४ करोड १८ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ। यि बैंकहरुको निष्क्रिय कर्जा बढी हुँदा यसको असर वितरणयोग्य नाफामा परेको हो।
समग्रमा, चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफामा असमान अवस्था देखिएको छ। केही बैंकले बलियो नाफा कायम राख्दा केही बैंकहरू अझै वितरणयोग्य नाफा सुधारको चरणमा रहेको देखिन्छ।


