काठमाडौँः पछिल्लो समय नेपाली बैंकिङ क्षेत्र एउटा विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ।
एकातिर बैंकहरूको नाफामा सुधार देखिएको छ भने अर्कोतिर बढ्दो खराब कर्जा, उच्च ब्याजदर र कर्जाको कमजोर मागका कारण समग्र क्षेत्र दबाबमुक्त हुन सकेको छैन। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणले बैंकिङ क्षेत्र सन्तुलनतर्फ फर्किन खोजेको देखिन्छ। तथापि कर्जाको गुणस्तरमा आएको गिरावटले भने चुनौती कायमै छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले दोस्रो त्रैमाससम्म ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो।
गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँमा सीमित थियो। नाफा सुधार हुनुको मुख्य कारण बैंकहरूको खुद ब्याज आम्दानीमा आएको वृद्धि हो। सार्वजनिक विवरणअनुसार २० मध्ये १४ बैंकको खुद ब्याज आम्दानी बढेको छ भने केवल ६ बैंकको मात्र घटेको देखिन्छ।
तर नाफा सुधारसँगै खराब कर्जा (एनपीएल) भने अझै उच्च स्तरमै रहेको छ। दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा ५.०८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो दर ४.४९ प्रतिशत मात्र थियो।
सार्वजनिक तथ्यांकअनुसार हिमालयन बैंक सबैभन्दा बढी खराब कर्जा भएको बैंक बनेको छ। बैंकको खराब कर्जा ७.९६ प्रतिशत पुगेको छ। त्यसपछि प्रभु बैंकको ७.९४ प्रतिशत, एनआईसी एशिया बैंकको ७.४७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.०९ प्रतिशत उच्च खराब कर्जाको सूचीमा छन्।
त्यस्तै, कुमारी बैंकको खराब कर्जा ६.९२ प्रतिशत, सिटिजन्स बैंकको ६.८६ प्रतिशत र प्राइम कमर्सियल बैंकको ६.३८ प्रतिशत रहेको छ। लक्ष्मी सनराइज बैंकको ५.५० प्रतिशत र नेपाल बैंकको ५.३४ प्रतिशत पनि औसतभन्दा माथि छन्।
यता, एभरेष्ट बैंक सबैभन्दा कम खराब कर्जा भएको बैंक बनेको छ। बैंकको खराब कर्जा केवल ०.८६ प्रतिशत रहेको छ। त्यसपछि नबिल बैंक ०.८८ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक १.८८ प्रतिशत, नेपाल एसबीआई बैंक २.६४ प्रतिशत, सिद्धार्थ बैंक र एनएमबी बैंकको ३.४५ प्रतिशत तथा सानिमा बैंकको ३.६५ प्रतिशत रहेका छन्।
खराब कर्जा बढ्दै जाँदा बैंकहरूले लोन लस प्रोभिजन पनि तीव्र रूपमा बढाएका छन्। मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सम्भावित कर्जा जोखिमका लागि २ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ प्रोभिजनमा छुट्याइसकेका छन्। गत असारसम्म यो रकम २ खर्ब ४६ अर्ब ५ करोड रुपैयाँ थियो। केवल पाँच महिनामै करिब २५ अर्ब रुपैयाँले प्रोभिजन बढ्नु कर्जा गुणस्तरमा दबाब बढिरहेको स्पष्ट संकेत हो।
२० वाणिज्य बैंकमध्ये कुमारी बैंकले सबैभन्दा बढी प्रोभिजन छुट्याएको छ। बैंकले मंसिर मसान्तसम्म २७ अर्ब २४ करोड रुपैयाँ प्रोभिजनमा राखेको छ। यसपछि ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छन्, जसले २४ अर्ब रुपैयाँभन्दा बढी रकम प्रोभिजनमा राखेका छन्। नबिल, स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकको प्रोभिजन पनि २० अर्ब रुपैयाँ नाघेको छ। सबैभन्दा कम प्रोभिजन भने एभरेष्ट बैंकको ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ।
अहिले बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँभन्दा बढी तरलता रहेको छ।
तरलता प्रशस्त हुनु सकारात्मक देखिए पनि कर्जाको माग कमजोर भएको संकेतका रूपमा हेरिएको छ। कर्जा प्रवाह नबढ्नु र प्रवाह भएको कर्जा असुली कमजोर रहनुले बैंकहरू दोहोरो दबाबमा परेका छन्। यही कारण नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये चालु आर्थिक वर्षमा १४ बैंकले मात्र लाभांश वितरण गरेका छन् भने ५ बैंक लाभांश दिन असफल भएका छन्।


