काठमाडौं। निजी लगानीमा सोलुखुम्बुमा ४८ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण हुने भएका छन्।
युनिभर्सल पावर कम्पनी लिमिटेडले २४.२२ मेगावाटको माथिल्लो इन्खुखोला र दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले २४.४१ मेगावाटको सुपर इन्खुखोला जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन्।
दुई आयोजना बनाउन ११ अर्ब १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसअनुसार माथिल्लो इन्खुखोलालाई छ अर्ब २३ करोड र सुपर इन्खुखोलालाई चार अर्ब ९४ करोड रुपैयाँ रहेको विकासकर्ता कम्पनीहरुले जनाएका छन्।
माथिल्लो इन्खुखोलाको लागत प्रतिमेगावाट २५ करोड ७५ लाख र सुपर इन्खुखोलाको २० करोड २५ लाख रुपैयाँ अनुमान गरिएको विकासकर्ता कम्पनीले जनाएका छन्। लागतको हिसावले सुपरको तुलनामा माथिल्लो इन्खुखोला महंगो देखिएको छ।
माथिल्लो इन्खुखोलाको आइआरआर १२.३९ र स्वपुँजीमा प्रतिफल १८.७४ प्रतिशत रहेको युनिभर्सल पावरले जनाएको छ। यस्तै सुपर इन्खुको आइआरआर १३.८९ र स्वपँुजीमा प्रतिफल २१.९० रहेको दोर्दीखोलाले जानकारी दिएको छ।
माथिल्लो इन्खुखोलाबाट वार्षिक १४ करोड ६६ लाख र सुपर इन्खुखोलाबाट १४ करोड ३० लाख रुपैयाँ विद्युत ऊर्जा उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ।
युनिभर्सलले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) तयार पारी सुझाव मागेको छ। प्रस्तावित दुबै जलविद्युत आयोजना नदी प्रवाही (आरओआर) हुन्।
आयोजना सोलुखुम्बको सोताङ गाउँपालिका २ र माप्या दूधकोसी गाउँपालिका वडा नम्बर ७ प्रभावित हुने युनिभर्सलले जनाएको छ।
आयोजनाको विद्युतगृह भूमिगत हुने भएको छ। दुई टर्वाइनबाट विद्युत उत्पादन हुनेछ।
यस्तै दोर्दीखोलाले बनाउन लागेको सुपर इन्खुखोला महाकुलुङ गाउँपालिका र खुम्बु पासाङ गाउँपालिकाको रहेको छ।
यो आयोजनाको पनि इआईका लागि सूझाव मागेको छ। यो आयोजनाको विद्युतगृह पनि भुमिगत हुने भएको छ। दुईटा पेल्र्टन टर्वाइनबाट बिजुली उत्पादन हुने भएको छ।
युनिभर्सल पावरले दोलखामा रहेको ११ मेगावाटको खारेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।
यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले लम्जुङमा १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजना बनाउन लागेका दुबै कम्पनी सीईडीबी हाइड्रोपावर डेभलपमेन्टअन्तर्गत रहेका छन्।


