काठमाडौँः सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले यस चरणमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर निष्कासन गरेको हो।
कम्पनीका अनुसार कुल निष्कासित सेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ।
यो आईपीओ छिटोमा माघ २१ गते बन्द हुनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा फागुन ३ गतेसम्म खुला रहनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
