काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २७.१९ अंकले बढेर २७ सय बिन्दुमाथि पुगेको छ। यसदिन सेयर बजार १.०१ प्रतिशतको प्रतिशतले बढेर २७०८.७० बिन्दुमा बन्द भएको छ।
यस्तै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो साता निरन्तर १० अर्बमाथि कारोबार भएको सेयर बजारमा यस साताको सुरुआती दिनदेखि कारोबार रकम न्यून रहेको थियो। साताको अन्तिम दिन १० अर्ब बढीको सेयर कारोबार भएको हो।
बुधबार ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यसदिन ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँको ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर १ लाख ८ हजार ८१७ पटक किनबेच भएको छ।
यसदिन २०१ कम्पनीको सेयर मूल्य बढेको छ। ५५ कम्पनीका लगानीकर्ताले घाटा व्यहोर्दा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो र मोदी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले भने ९.९८ प्रतिशतले घाटा व्यहोरेका छन्।


