काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत माउन्टेन इनर्जी नेपाल लिमिटेडले नयाँ ठूलो आयोजनामा लगानी गर्ने भएको छ। मनाङस्थित ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनामा मुख्य लगानीकर्ताका रूपमा कम्पनी प्रवेश गरेको हो। यस आयोजनामा माउन्टेन इनर्जीले १ अर्ब ८३ करोड ६० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गर्दै ५१ प्रतिशत स्वामित्व लिनेछ।
कुल १२ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा ३० प्रतिशत संस्थापकहरूको स्वपुँजी र ७० प्रतिशत बैंक ऋण रहने गरी लगानी संरचना तय गरिएको छ।
आयोजनाबाट बिजुली उत्पादन गर्न विद्युत विकास विभागबाट इजाजतपत्र (लाइसेन्स) र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ। आयोजना बनाउन माउन्टेन इनर्जी र सीता हाइड्रोपावर प्रालिबीच २०८१ मंसिरमा लगानी सम्झौता भएको थियो।
माउन्टेन इनर्जीले ४२ मेगावाटको मिस्त्री खोला र ५ मेगावाटको तादीखोला गरी कुल ४७ मेवावाटका दुई आयोजना सञ्चालन गरिरहेको छ। यस्तै १२ मेगावाटको मिस्ट्रीखोला–२ आयोजना पनि बनाउँदै छ। विद्युत विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत आयोजनाको अध्ययन गर्न सीता हाइड्रोपावरलाई इजाजत दिएको थियो।
मिस्ट्रीखोला आयोजनाको प्रतिमेगावाट साढे १३ करोड रुपैयाँमा निर्माण सम्पन्न गरेको थियो। माउन्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्री खोला–२ आयोजनाको पनि विद्युत उत्पादन लाइसेन्स पाएको छ।
मिस्ट्रीखोला आयोजना सञ्चालनमा आएको पहिलो वर्ष आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले १५ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरिसकेको छ।
कम्पनीले सेयरधनीलाई ५२ करोड पाँच लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गरेको छ। गत वर्ष कम्पनीले ६२ करोड ९० लाख रुपैयाँ खुदनाफा गरेको थियो।
चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा माउन्टेन इनर्जीले ४२ करोड ३४ लाख रुपैयाँ खुदनाफा गरेको छ। पहिलो त्रैमाशमा कम्पनीले ६१ करोड ३५ लाख रुपैयाँको बिजुली विद्युत प्राधिकरणलाई बिक्री गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
रोबस्ट इनर्जी लिमिटेड र आधिशक्ति विद्युत उत्पादन कम्पनी एकआपसमा गाभिएर माउन्टेन इनर्जी भएको हो।


