काठमाडौँ: नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले एक महिनामै २५३ वटा विद्युतीय कार आयात गरेको छ। क्रिसमस र अँग्रेजी नयाँ वर्षको अवसरमा व्यापारमा वृद्धि देखिएसँगै टाटाले उल्लेख्य मात्रामा गाडी आयात गरेको हो।
भन्सार विभागको तथ्यांकअनुसार कम्पनीले जनवरी महिनामा अढाई सयभन्दा बढी विद्युतीय कार आयात गरेकोमा सबैभन्दा बढी एक्सप्रेस टी मोडल मात्रै यस अवधिमा ११२ युनिट आयात भएको छ। विद्युतीय ट्याक्सीप्रति आकर्षण बढ्दै गएकाले पछिल्लो समय एक्सप्रेस टी ट्याक्सीको माग बढेको छ।
२०८० वैशाखदेखि काठमाडौँ उपत्यकामा गुड्न थालेको एक्सप्रेस टी ट्याक्सी हालसम्म एक हजार बढी पुगिसकेको कम्पनीको भनाइ छ। पीएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराइएको यो ट्याक्सीका धनीले मोबाइल फोनमार्फत नै आफ्नो गाडी कहाँ कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्छन्।
जीपीएसजडित गाडी ग्राहकहरूको सुरक्षाका लागि पनि उपयुक्त भएकाले यो विद्युतीय ट्याक्सीलाई उपभोक्ताले निकै रुचाएका छन्।
यस्तै जनवरीमा बढी आयात भएका अन्य मोडलमा पन्च, टियागो र नेक्सन के–थ्री रहेका छन्। यस अवधिमा नेक्सन के–थ्री २० वटा र टियागो ईभी ५१ वटा नेपालमा आयात भएका छन्।


