काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर) हरूले कारोबार गर्न पाउने कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ। स्टक डिलर कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ अनुसार तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत कम्पनीहरूलाई समेटेर नयाँ सूची प्रकाशन गरिएको नेप्सेले जनाएको छ।
कार्यविधिको दफा ३(१), ३(२) र ३(३) मा उल्लेखित प्रावधानअनुसार योग्य ठहरिएका कम्पनीहरूलाई पुनरावलोकन गरी सूची अद्यावधिक गरिएको हो। यससँगै स्टक डिलरहरूले अब यी कम्पनीका सेयरहरू आफ्नै खाताबाट खरिद–बिक्री गर्न सक्नेछन्।
नेप्सेको सूचीमा विभिन्न क्षेत्रका कुल ११० कम्पनी समावेश छन्। जसअनुसार १९ वाणिज्य बैंक, १० विकास बैंक र २ फाइनान्स कम्पनी परेका छन्। त्यस्तै २२ लघुवित्त संस्था, १० जीवन बीमा र ११ निर्जीवन बीमा कम्पनी पनि सूचीमा अटाएका छन्।
यसैगरी ६ लगानी कम्पनी, २४ जलविद्युत कम्पनी, २ उत्पादन तथा प्रशोधन समूहका कम्पनी, २ होटल तथा पर्यटन क्षेत्रका कम्पनी र २ अन्य समूहअन्तर्गतका कम्पनीहरूलाई पनि कारोबारयोग्य सूचीमा राखिएको छ।
नेप्सेले समय–समयमा तोकिएको मापदण्डका आधारमा यस्ता सूची अद्यावधिक गर्दै आएको छ।


