काठमाडौँः सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई जलविद्युत केन्द्र (२२ मेगावाट) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेगावाट) आयोजना पुनः सञ्चालनमा आएका छन् । बाढीका कारण क्षति पुगेपछि बन्द भएको अवस्थामा मर्मत सम्पन्न गरी पुनः सञ्चालनमा ल्याइएको हो।
गत असोज १८ गते परेको अविरल वर्षासँगै माई खोलामा आएको बाढी तथा पहिरोका कारण दुवै आयोजनाको हेडवर्क्स क्षेत्रमा रहेका विभिन्न संरचनामा क्षति पुगेको थियो। विशेषगरी हेडरेस कल्भर्ट र फ्लसिङ चेम्बरमा भएको क्षतिले विद्युत उत्पादन पूर्ण रूपमा अवरुद्ध भएको थियो र विशेष परिस्थिति सिर्जना भएको थियो।
कम्पनीका अनुसार क्षतिग्रस्त संरचनाहरूको मर्मत, सम्भार तथा परीक्षण कार्य सम्पन्न भएपछि आयोजनाहरू पुनः सञ्चालनमा आएका हुन्। माई जलविद्युत केन्द्र फागुन १० गते बिहान १० बजेरबाट सञ्चालनमा आएको हो भने माई क्यास्केड जलविद्युत केन्द्र सोही दिन बिहान १० बजे सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
कम्पनीले विशेष परिस्थिति अन्त्य भई विद्युत उत्पादन नियमित अवस्थामा फर्किएको जानकारी दिएको छ।


