काठमाडौँ: एमए पावर लिमिटेडले ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना बनाउने भएको छ। कम्पनीले आयोजनाबाट विद्युत उत्पादन इजाजतपत्र (लाइसेन्स) का लागि विद्युत विकास विभागमा आवेदन दिएको छ।
विभागले एमए पावरलाई विद्युत उत्पादन लाइसेन्स दिन प्रक्रिया अघि बढाएको छ। आयोजनाले २०८६ वैशाखदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।
आयोजना गण्डको प्रदेश तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका र भानु नगरपालिका लमजुङको राइनास नगरपालिका गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत मर्स्याङ्दी नदीमा बन्ने छ। मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाबाट वार्षिक सरदर ४४ करोड ९० लाख युनिट विद्युत उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ।
आयोजनाका प्रमुख संरचना तनहुँको बन्दीपुर गाउँपालिका र भानु नगरपालिका लमजुङको राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिका अन्तर्गत मर्स्याङ्दी नदीको दायाँ किनार क्षेत्रमा प्रस्ताव गरिएको छ। विद्युत उत्पादनका लागि मर्स्याङ्दी नदीको पानी इन्टेकमा फर्काउन बनाइने बराजको कुल लम्बाइ ७४ मिटरको हुनेछ।
मर्स्याङ्दी नदीको दायाँ किनारमा सतही विद्युत गृह प्रस्ताव गरिएको छ। विद्युत गृहभित्र ४ वटा भर्टिकल एक्सिस फ्रान्सिस टर्बाइनहरू रहनेछन्।
विद्युतगृहबाट निस्किने पानी ३५२ मिटर लामो टेलरेस पाइपमार्फत मर्स्याङ्दी नदीमा छोडिनेछ।
आयोजनाबाट उत्पादन हुने विद्युत ११.६ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने कम्पनीले जनाएको छ।


