काठमाडौँ: गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि केही समय ‘डिस्टर्ब’ भएको अटोमोबाइल व्यवसायले पुन: लय समातेको छ। चुनाव नजिकिँदै जाँदा बजारमा सवारीसाधनको बढ्दो बिक्रीसँगै उत्साह थपिएको व्यवसायीहरू बताउँछन्। जेनजी आन्दोलनका कारण केही समय व्यवसायमा अन्योल देखिए पनि अहिले भने गति लिएको व्यवसायीहरू बताउँछन्।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका सचिव तथा नारायणी अटोमोबाइल बिजनेस प्रालिका सञ्चालक अनुपकुमार बरालले अटोमोबाइल व्यवसायले लय समातिसकेको बताएका छन्। उनले जेनजी आन्दोलनका कारण केही समय व्यवसाय डिस्टर्ब भए पनि अहिले त्यो अवस्था नरहेको बताए। ‘जेनजी आन्दोलनपछि अलिकति डिस्टर्ब त भएको हो। तर अटोमोबाइल व्यवसायले आफ्नो लय लिइसकेको छ,’ उनले भने।
उनकाअनुसार पछिल्लो समय बजारमा गाडी हेर्न जाने र किन्नेहरू बढेका छन्।
यस्तै भावना बिजनेस लिंकका सञ्चालक सुनिल रिजाल पनि पछिल्लो समय बजार चलायमान भएको बताउँछन्। जेनजी आन्दोलन र अब के हुने हो भन्ने अन्योलका कारण केही समय व्यवसायमा समस्या देखिए पनि चुनाव हुने पक्कापक्की भएपछि विशेषगरी पुस महिनापछि व्यापारमा रौनक देखिएको उनको भनाइ छ।
‘सवारीसाधनसहित स्पेयर पार्ट्सको बजार पनि बढेको छ। चुनाव नजकिएकाले अब केही दिन व्यवसाय बन्द हुनेछन्। तर यसपछि बन्ने सरकारबाट हामी आशावादी छौँ,’ उनले भने, ‘अहिले प्राय: सबै उम्मेदवारले अर्थतन्त्र चलायमान बनाउनुपर्ने भन्दै निजी क्षेत्रप्रति सकारात्मक देखिनुभएको छ। चुनावपछि नयाँ वर्षमा व्यापार अझैँ बढ्ने विश्वास छ।’
ईभीमा आकर्षण
व्यवसायीको उक्त भनाइलाई भन्सार विभागको पछिल्लो तथ्यांकले पनि पुष्टि गर्छ। विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा अघिल्लो वर्षको यस अवधि हाराहारीमै सवारीसाधनको आयात भएको देखिन्छ।
विभागको तथ्यांकअनुसार यस अवधिमा डिजेल/पेट्रोल इन्जिन कारको आयात खस्किँदै गए पनि विद्युतीय कार (ईभी)को आयात भने सन्तोषजनक देखिन्छ। विभागका अनुसार चालु आवको पहिलो सात महिनामा १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५ हजार ८९६ वटा ईभी कार/जीप/भ्यान नेपाल भित्रिएका छन्। जसबाट सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
विभागको तथ्यांकअनुसार माघ महिनामा ईभीको आयात उच्च देखिन्छ। विभागका अनुसार माघमा मात्रै २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ईभी कार आयात गरिएको छ।
यो अघिल्लो आवको तुलनामा सामान्य कम भए पनि जेनजी आन्दोलनपछिको वर्तमान अवस्थामा आशाजनक भएको नारायणी अटोबिजेनसका सञ्चालक बराल बताउँछन्।
अघिल्लो आर्थिक वर्षको ७ महिनामा १४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ६ हजार २५६ वटा ईभी कार/जीप/भ्यान आयात भएका थिए।
नेपालमा सबैभन्दा बढी ईभी आयात चीनबाट भएको तथ्यांकमा देखिन्छ। चालु आवमा चीनबाट मात्रै ७१ प्रतिशत अर्थात ९ अर्ब ९० करोड रुपैयाँ बराबरको ४ हजार २०४ इभी आयात भएको छ। त्यसपछि भारतबाट २ अर्ब ६५ करोड रुपैयाँको एक हजार २६३ वटा ईभी भित्रिएका छन्। यसैगरी थाइल्याण्डबाट ४०१ वटा, अमेरिकाबाट १२ वटा, जर्मनीबाट १० वटा, दक्षिण कोरियाबाट २, वेलायत र अष्ट्रियाबाट १/१ वटा ईभी आयात भएको विभागले जनाएको छ।
पछिल्ला वर्षहरूमा ईभीको आयात उकालो लाग्दै जाँदा डिजल/पेट्रोलयुक्त सवारीसाधनको आयात भने निरन्तर खस्किँदो देखिन्छ। यस वर्ष पनि त्यही क्रम आयातमा देखिएको छ। तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा २९ करोड ५८ लाख रुपैयाँ बराबरको दुई हजार २३३ वटा डिजेल/पेट्रोलयुक्त गाडीको आयात भएकोमा चालु आवको सोही अवधिमा आयात १९ करोड ६४ लाख रुपैयाँ बराबरको एक हजार ८७७ वटा कार, जीप, भ्यानमा खुम्चिएको छ।
दुईपाङ्ग्रेतर्फ पनि ईभीमा आकर्षण बढ्दो, आयात दोब्बर वृद्धि
चारपाङ्ग्रेमा मात्रै नभई दुईपाङ्ग्रे सवारीसाधनतर्फ पनि ईलेक्ट्रिक मोटरसाइकल/स्कुटरमा उपभोक्ताको आकर्षण बढ्दै गएको देखिन्छ। चालु आवको पहिलो सात महिनामा अघिल्लो आवको यसै अवधिको तुलनामा दुईपाङ्ग्रे ईभीको आयात दोब्बर बढी छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघसम्म एक अर्ब १४ करोड ४७ लाख रुपैयाँ बराबरको १२ हजार ५२१ वटा इलेक्ट्रिक मोटरसाइकल/स्कुटर आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ५६ करोड रुपैयाँको ५ हजार ९७२ वटा इलेक्ट्रिक मोटरसाइकल/स्कुटर आयात भएको तथ्यांकमा देखिन्छ।


