काठमाडौँः प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन देशभर सवारी आवागमनमा कडाइ गरिने भएको छ। निर्वाचन आयोग ले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जनाएको छ।
निर्णयअनुसार एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवाका सवारी, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन भने सञ्चालनमा रहनेछन्। कूटनीतिक नियोगका सवारी र निर्वाचन प्रयोजनका लागि आधिकारिक पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ।
यस अवधिमा पासबिना चलाइने निजी सवारी, सार्वजनिक यातायात तथा अन्य भाडाका सवारीसाधन भने सञ्चालन गर्न पाइने छैन। आयोगले मतदानका दिन प्रयोग हुने सवारीका लागि पास वितरणको व्यवस्था गरेको जनाएको छ।
निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्। हवाई यात्रुहरूले विमानस्थलदेखि घर वा होटलसम्म आवतजावत गर्दा निजी सवारी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न र मतदान प्रक्रिया व्यवस्थित बनाउन आयोगले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।


