काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत युनियन हाइड्रोपावर लिमिटेडले ६० मेगावाटको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना बनाउने भएको छ। कम्पनीले तीन मेगावाटको मिदिमखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।
आयोजना बनाउन युनियनले बिजुली उत्पादन इजाजतपत्र (लाइसेन्स) का लागि विद्युत विकास विभागमा निवेदन दिएको छ। विभागले पनि लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ। आयोजना बनाउन १२ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आयोजना नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको छ। युनियन हाइड्रोपावरले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनअनुसार लागत प्रतिमेगावाट लागत २२ करोड २१ लाख रुपैयाँ छ। आयोजनाको कूल उचाई (ग्रस हेड) ९६८ मिटर रहेको छ।
आयोजनाबाट वार्षिक ३३ करोड ३८ लाख २२ हजार युनिट विद्युत उत्पादन हुने युनियनले जनाएको छ। जसअनुसार सुक्खायाममा १० करोड र वर्षायाममा २३ करोड ३८ लाख २२ हजार युनिट बिजुली उत्पादन हुनेछ।
बिजुली उत्पादन गर्न विद्युतगृहमा भर्टिकल एक्सेस पेल्र्टन टबाईन जडान हुने भएको छ। आयोजना निर्माण सुरु भएको चार वर्षमा सक्ने लक्ष्य छ।
आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी प्रसारण लाइनमार्फत ४५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको ढुङेसाँघु सबस्टेशन सबस्टेशनमा जोडिने युनियनले जनाएको छ।
आयोजनामा पानीको वहाव प्रतिसेकेन्ड ७.५ घनमिटर रहेको छ। बाँधको लम्बाइ २५ मिटर र उचाइ पाँच मिटर अग्लो हुनेछ। तमोर नदीमा बाँध बनाई ६.४ किलोमिटर लामो सुरुङ हुँदै विद्युत उत्पादन हुने भएको छ।
प्रस्तावित आयोजना ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका ७ भएर बग्ने तमोर खोलामा निर्माण हुनेछ। आयोजना कन्चनजंघा सरंक्षण क्षेत्रभित्र पर्छ। यो आयोजनाको प्रतिफल ११.६१ प्रतिशत रहेको छ।
तल्लो तटीय क्षेत्रमा सुपर तमोर र याङमा खोला गरी दुई जलविद्युत आयोजना रहेका छन्।
आयोजनासम्म पुग्नका लागि करिब २० किलोमिटरको पहुँचमार्ग निर्माण गर्नुपर्छ।
विद्युत गृह तमोर नदीको दायाँ किनारमा जोंगिम भन्ने ठाउँमा रहेको झोलुङ्गे पुल नजिकै पर्छ।
तीन मेगावाट क्षमताको लम्जुङमा रहेको मिदिम खोला आयोजना सञ्चालन गरिरहेको युनियनले सोलुखुम्बुमा २८.९ मेगावाटको होङगुखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको छ। कम्पनीले सरकारबाट प्रतिस्पर्धाबाट उक्त आयोजना पाएको हो।


