२०८३ कार्तिक ११ गते मङ्गलबार

साताको सेयर बजारः चुनावपछि उछालदेखि ब्रोकरलाई कारबाहीसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ३०
nepse2

काठमाडौं। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि यो साता सेयर बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ। साताको सुरुवातमै बजारमा तीव्र उछाल देखियो भने त्यसपछिका दिनहरूमा घटबढको अवस्था रह्यो।

यसैबीच कर्मचारी आन्दोलन, ब्रोकर कम्पनीमाथि कारबाही, प्राथमिक सेयर (आईपीओ) बाँडफाँड तथा नयाँ आईपीओ निष्काशन जस्ता घटना पनि यो साता चर्चामा रहेका छन्।

निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा एकाएक उत्साह देखिएको थियो। करिब एक सातापछि खुलेको बजारमा लगानीकर्ताको उच्च खरीद दबाब देखिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १६२.९३ अंक बढेर २८ सय ७५.४३ बिन्दुमा पुगेको थियो।

जुन पछिल्लो सात महिनाकै उच्च स्तर हो। उक्त दिन बजारमा अत्यधिक उछाल आएपछि तीन पटक सर्किट लाग्दै कारोबार समय अगावै बन्द गरिएको थियो।

बजार पूँजीकरणमा पनि ठूलो वृद्धि देखिँदा एकैदिन करिब दुई खर्ब ७३ अर्ब ७८ करोड रुपैयाँ बराबरको वृद्धि भएको थियो।

सोमबारको उछालपछि मंगलबार भने बजारमा सामान्य ‘करेक्सन’ देखियो। त्यस दिन नेप्से सूचक ३२.०८ अंक घटेर २८ सय ४३.३५ बिन्दुमा झरेको थियो।

यद्यपि, बजार घटे पनि कारोबार रकम भने उल्लेख्य रह्यो। मंगलबार मात्रै २१ अर्ब ३५ करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स तथा सेन्सेटिभ फ्लोट इण्डेक्समा पनि सामान्य गिरावट देखिएको थियो।

बुधबार सेयर बजारमा अझ ठूलो गिरावट आयो। सो दिन नेप्से ४६.७८ अंक घटेर २७ सय ९६ बिन्दुमा कायम भयो। अधिकांश कम्पनीको सेयर मूल्य घट्दा बजार दबाबमा परेको देखियो।

बुधबार ३४ कम्पनीको सेयर मूल्य बढेको थियो भने २२५ कम्पनीको मूल्य घटेको थियो। उक्त दिन ३२९ कम्पनीका तीन करोड ६० लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा १३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

साताको अन्तिम कारोबार दिन बिहीबार भने बजारमा सुधार देखियो। नेप्से सूचक २३.८७ अंकले बढेर २८ सय २० बिन्दुमा पुगेर बन्द भएको थियो।

बिहीबार १७६ कम्पनीको सेयर मूल्य बढेको थियो भने ७७ कम्पनीको मूल्य घटेको थियो। दिनभरमा ३३५ कम्पनीका चार करोड १६ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस्तै धितोपत्र बोर्डका कर्मचारीले पनि फेरि आन्दोलन सुरु गरेका छन्। अर्थ मन्त्रालयको असोज २ गतेको पत्र खारेजी माग गर्दै कर्मचारी संगठनहरूले धर्ना तथा पेनडाउन कार्यक्रम जारी राखेका छन्।

प्रतिनिधिसभा चुनावका कारण केही समय रोकिएको आन्दोलन बिहीबारदेखि पुनः सुरु भएको हो। जसअनुसार कर्मचारीहरूले दैनिक एक घण्टा धर्ना तथा पेनडाउन कार्यक्रम गरिरहेका छन्।

यसैबीच बोर्डले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै तीन ब्रोकर कम्पनीमाथि जरिवाना गरेको छ।

बोर्डले सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ भने श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०–३० लाख रुपैयाँ जरिवाना लगाएको छ।

बैंकहरूबाट प्रवाह हुने सेयर धितो कर्जा पनि उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को माघसम्म बैंकहरूले प्रवाह गरेको सेयर धितो कर्जा ३५ प्रतिशत बढेको छ।

माघसम्म बैंकहरूले एक खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब १५ अर्ब ११ करोड रुपैयाँ मात्र रहेको थियो।

यसै साता पाल्पा सिमेन्ट इण्डस्ट्रीज लिमिटेडको आईपीओ पनि बाँडफाँड भएको छ। कम्पनीले फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो।

उक्त आईपीओमा कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका थिए। जसमा २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका थिए। गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

त्यसैगरी टक्सार पिखुवा खोला हाइड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो।

स्थानीयका लागि आवेदन अवधि छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म खुला रहनेछ।

यसैबीच बोर्डले हिमालयन पावर पार्टनरलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ।

साथै बोर्डले कालांगा हाइड्रो लिमिटेड र सानीगाड हाइड्रो लिमिटेडलाई पनि आईपीओ निष्कासनको स्वीकृति दिएको छ।

त्यस्तै, नेप्सेमा शुक्रबार तीन लघुवित्तसहित आध दर्जन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँच प्रतिशत दरको कुल २५ लाख १५ हजार ६१६ कित्ता, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत अर्थात ११ लाख १७ हजार ९१ कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६३ प्रतिशत दरको नौ लाख ३३ हजार ७५० कित्ता र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १२.५ प्रतिशत दरका ४० लाख १९ हजार १८२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

साथै, सिक्लेस हाइड्रोको १५ प्रतिशत दरको १३ लाख ७५ हजार कित्ता र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत दरको २४ लाख ८७ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत सेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबारका लागि आउनेछ ।

प्रकाशित: २०८२ फाल्गुण ३० गते शनिवार ०७:४९
प्रतिक्रिया

थप समाचार

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम साढे ५ अर्बमाथि

काठमाडौँः मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ। सोमबार...

दशैँपछिको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले घट्यो

काठमाडौँः दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने घटेको हो। नेप्सेसँगै...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

संस्थागत लगानीकर्ता बढाउने बोर्डको योजना, सेयर बजारमा अब ‘ठूला खेलाडी’ थपिँदै

काठमाडौँः नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता घटाउँदै ठूला तथा दीर्घकालीन संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तयारी भएको छ। नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना