काठमाडौँ: नेपाली सेयर बजारलाई आधुनिक र लगानीकर्तामैत्री बनाउने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘इन्ट्राडे ट्रेडिङ’ र ‘सर्ट सेलिङ’ प्रणाली कार्यान्वयनमा ल्याउने तयारीलाई तीव्र पारेको छ। यी दुई अत्याधुनिक कारोबार उपकरणको सुरुवातसँगै नेपाली सेयर बजारको स्वरूपमा आधारभूत परिवर्तन आउने र लगानीकर्ताले बजार बढ्दा मात्र नभई घट्दा समेत नाफा आर्जन गर्न सक्ने ढोका खुल्ने अपेक्षा गरिएको छ।
बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठका अनुसार, यी नयाँ प्रणाली लागू गर्न आवश्यक कानुनी र प्राविधिक गृहकार्य अन्तिम चरणमा पुगेको छ। बजारको दिगो विकास, तरलतामा वृद्धि र लगानीकर्ताको पहुँच विस्तारका लागि यस्ता उपकरण अनिवार्य भइसकेको अध्यक्ष श्रेष्ठले बताएका छन्। यसै सन्दर्भमा बोर्डले कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा चार सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ, जसले अन्तर्राष्ट्रिय अभ्यास तथा नेपाली बजारको अवस्थालाई विश्लेषण गर्दै प्रतिवेदन तयार पारेको छ।
हाल नेपाली सेयर बजारमा ‘सर्ट सेलिङ’ को व्यवस्था छैन। सर्ट सेलिङ प्रणालीमामा लगानीकर्ताले आफूसँग नभएको सेयर पनि सापटी लिएर बेच्न सक्छन् र पछि मूल्य घटेपछि सस्तोमा किनेर फर्काउँछन्। यसरी मूल्यको अन्तरबाट नाफा आर्जन गर्न सकिन्छ। साधारण रूपमा सेयर बजारमा सस्तोमा किनेर महँगोमा बेच्ने प्रवृत्ति हुन्छ, जसले गर्दा बजार बढ्दा मात्र नाफा सम्भव हुन्छ। तर ‘सर्ट सेलिङ’ लागू भएमा घट्दो बजारमा पनि लगानीकर्ताले अवसर पाउनेछन्, जसले बजारलाई अझ सन्तुलित र गतिशील बनाउने विश्वास गरिएको छ।
यससँगै ‘इन्ट्राडे ट्रेडिङ’ पनि अत्यन्त महत्वपूर्ण मानिएको छ। इन्ट्राडे कारोबार भन्नाले एउटै दिनभित्र सेयर किन्ने र बेच्ने सुविधा हो। हालको प्रणालीमा लगानीकर्ताले किनेको सेयर तुरुन्तै बेच्न सक्दैनन्, तर इन्ट्राडे लागू भएपछि बजार खुल्दा किनेको सेयर सोही दिनभित्रै बिक्री गर्न सकिनेछ। यसले बजारमा कारोबारको गति बढाउने, तरलता अभिवृद्धि गर्ने र लगानीकर्तालाई छिटो निर्णय लिन सहज बनाउने अपेक्षा गरिएको छ। अध्यक्ष श्रेष्ठका अनुसार, सर्ट सेलिङलाई प्रभावकारी रूपमा सञ्चालन गर्न इन्ट्राडे कारोबार अनिवार्यजस्तै हुन्छ।
धितोपत्र बोर्डले यसअघि नै मार्जिन लेन्डिङ निर्देशिका लागू गरिसकेको छ र केही ब्रोकरहरूले यो सेवा सुरु पनि गरिसकेका छन्। तर अध्यक्ष श्रेष्ठले मार्जिन कारोबारलाई प्रभावकारी बनाउन इन्ट्राडे र सर्ट सेलिङ आवश्यक रहेको बताएका छन्। उनका अनुसार यी तीनवटै प्रणाली एकअर्कासँग जोडिएका छन् र सबै लागू भएपछि मात्र बजारले अपेक्षित गति लिनेछ।
‘यो व्यवस्था नगरी मार्जिन कारोबार प्रभावकारी नहुँने भन्ने हैन, तर त्यसलाई अझ थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि इन्ट्राडे आवश्यक छ।’ उनले नेपाल क्लिकसँग भने। त्यसैले बोर्ड मार्जिन लेन्डिङ निर्देशिका पछि इन्ट्राडे र सर्ट सेलिङ कारोबार सुरु गर्न आवश्यक कानुनको तयारीमा जुटेको हो।
नयाँ प्रणाली कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्राविधिक तयारी पनि उत्तिकै महत्वपूर्ण हुने बताइएको छ। विशेष गरी ‘टी प्लस टू’ राफसाफ प्रणालीमा सुधार, छिटो सेटलमेन्ट र आधुनिक सफ्टवेयर विकास बिना इन्ट्राडे कारोबार प्रभावकारी हुन सक्दैन। त्यसैले प्राविधिक संरचना मजबुत बनाउने काम पनि सँगसँगै अघि बढाइएको छ।
यसका साथै ‘सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ’ प्रणालीमार्फत लगानीकर्ताले आफ्नो डिम्याट खातामा भएका सेयर निश्चित प्रतिफलमा अरूलाई सापटी दिन सक्ने व्यवस्था पनि गरिनेछ। यसले लामो समयसम्म निष्क्रिय रहेका सेयरलाई बजारमा सक्रिय बनाउने र समग्र कारोबार वृद्धि गर्ने अपेक्षा गरिएको छ।
समग्रमा हेर्दा, धितोपत्र बोर्डले अघि बढाएको इन्ट्राडे र सर्ट सेलिङ प्रणालीले नेपाली सेयर बजारलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ। कानुनी, प्राविधिक तथा संरचनात्मक तयारी पूरा भएपछि यी व्यवस्था कार्यान्वयनमा ल्याइने बोर्डले जनाएको छ। अध्यक्ष श्रेष्ठका अनुसार, अब बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन ढिलाइ गर्न नहुने भएकाले यस्ता सुधारहरू छिट्टै लागू गरिनेछ। ‘अन्य देशमा यी व्यवस्था लागु भईसकेका छन्, अब नेपालमा पनि छिटै लागु हुन्छ,’ उनले भने।


